सुरुङगा (झापा), २३ पुस । झापाको दुवागढी–९ स्थित प्रगतिटोलमा रहेको साकम्बरी प्रोडक्ट (गुट्खा उद्योग) मा आगजनी गरेको आरोपमा प्रहरीले नेकपा माओवादीका झापा सेक्रेटरीसहित चारजनालाई पक्राउ गरेको छ ।
माओवादीका झापा सेक्रेटरी विवश किराँती, जिल्ला सदस्य चमनलाल माझी, पुष्प अधिकारी र विद्यार्थी नेता नवीन अधिकारीलाई आज झापाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
यता माओवादी झापाका नेता सुमनसिंह पौडेलका अनुसार उनीहरुलाई जिल्ला सचिवालय सदस्य लक्ष्मी याख्खाको घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।
गत पुस ६ गते राति गुट्खा उद्योगमा आगजनी गरिएको थियो । आगजनीबाट रु एक करोड बरावरको क्षति भएको थियो । आगजनीलगत्तै नेता पौडेलले उक्त गुट्खा उद्योगमा आफूहरुले आगजनी गरेको भन्दै जिम्मा लिनुभएको थियो । रासस












प्रतिक्रिया