
काठमाडौँ, २२ पुस । नेपाल एस्ट्रोनोमिकल सोसाइटी र अन्तर्राष्ट्रिय खगोल खोज अभियान संयुक्त राज्य अमेरिकाको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय क्षुद्रग्रह खोज अभियानका लागि नेपालका पाँच विद्यालयलाई छनोट गरिएको छ ।
उक्त अभियानका लागि नेपालका अङ्कुर विद्याश्रम, बत्तिसपुतली, युरेका हाइस्कुल, नेपालटार, गणेश इङ्लिस सेकेन्डरी स्कुल, टोखा, द इन्साइट भिजन उच्च मावि, धुम्बाराही र द सेलिब्रेसन को–एड, जोरपाटीलाई छनोट गरिएको सोसाइटीले जनाएको छ ।
टोलीमा प्रत्येक विद्यालयले एक शिक्षक र दुई छात्रासहित पाँच/पाँच जनालाई सहभागी गराउनुपर्नेछ ।
सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार अभियानमा विद्यार्थीलाई टेलिस्कोपद्वारा खिचिएका तस्बिर, आवश्यक सफ्टवेयर तथा सहयोग पुस्तिका उपलब्ध गराइने छ । त्यसबाट सहभागीले क्षुद्रग्रहको खोज गर्नुपर्नेछ ।
यस्ता खालका अनुसन्धानले विद्यार्थीलाई भविष्यमा विज्ञान तथा प्रविधिप्रति जिज्ञासु बनाउने र विद्यालयस्तरबाट नै सहयोग पुग्ने अध्यक्ष भट्टराईको दाबी छ ।
उक्त अभियानमा नेपालसहित विभिन्न १० मुलुकले सहभागिता जनाउने छन् । उक्त अभियान भोलिदेखि आगामी माघ २८ गतेसम्म सञ्चालन हुनेछ । रासस












प्रतिक्रिया