
काठमाडौँ, २२ पुस । संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ डार्फरमा खटी जाने १३ औँ समूहका प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा बिदाई गर्नुभयो ।
बिदाई समारोहमा प्रहरी महानिरीक्षक अर्यालले टोलीका कन्टिनजेन्ट कमान्डर प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा उहाँले टोलीमा जाने प्रहरीलाई सङ्गठन र मुलुकको जिम्मेवारी बोध गरी साङ्गठनिक क्षमता र मुलुकको प्रतिविम्ब झल्कने काम गर्न निर्देशन दिनुभयो ।

प्रहरी प्रधान कार्यालय यूएन महाशाखाका प्रमुख प्रहरी बरीष्ठ उपरीक्षक श्याम खडकाले टोलीमा प्रहरी नायव उपरीक्षक २, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक १८, प्रहरी सहायक निरीक्षक ३५, प्रहरी हवल्दार ५२, प्रहरी जवान १९ र कार्यालय सहायक ६ जना गरी जम्मा १ सय ४० जना रहेको जानकारी दिनुभयो ।
सो मिसनमा नेपाल प्रहरीले सन् २००८ बाट सहभागिता जनाउन सुरु गरेको हो । हालसम्म एक हजार ६८० जना प्रहरी कर्मचारीले उक्त मिसनमा सेवा प्रदान गरिसकेको सो अवसरमा जानकारी दिइयो । रासस












प्रतिक्रिया