
काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासका लागि महत्वाकांक्षी योजना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको चौथौ बैठकमा प्रधानमन्त्री ओलीले साविकका क्रमागत योजनाले मात्र कर्णालीलाई विकासको मुल प्रवाहमा ल्याउन नसकिने बताउनुभयो ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले ‘अब पनि कर्णालीमा कोदालोले खनेर बाटो पु¥याउनुपर्छ’ भन्ने मान्यता राख्ने हो भने त्यस ठाँउको बिकास हुन नसक्ने बताउनुभयो ।
‘अब कर्णालीमा फरक फरक संस्था र निकायबाट फरक फरक किसिमका विकासका योजना एकैचोटी सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जसले गर्दा त्यहाँ एकै चोटी विकासको लहर आउन सकोस ।’
कर्णालीमा विकासको लहर ल्याउनका लागि वजेटमा भन्दा योजनामा ध्यान दिन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । ‘बजेट कति लाग्छ भनेर चिन्ता नगर्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘महत्वाकांक्षी योजना बनाएर ल्याउनुहोस । सम्बन्धित मन्त्रालयमा प्रस्ताव गर्नुहोस । सहयोग चाहियो भने म कहाँ आउनुहोस । कर्णालीलाई सहयोग गर्न म सधैं तयार छु ।’
२०६८ सालमा जुम्लाको खलंगामा स्थापना भएको प्रतिष्ठानमा हाल स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्सको पढाई हुन्छ । यो प्रतिष्ठानले कर्णालीसहित त्यस भेगका ९ वटा जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बझाङ, अछाम र बाजुरालाई कार्यक्षेत्र बनाएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिनुभयो ।
हाल ८० जना विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा ४५ प्रतिशत आरक्षण कर्णालीलाई छुट्याएको भण्डारीले जानकारी दिनुभयो । प्रतिष्ठानले छलफलका लागि ९ वटा प्रस्ताव राखेकोमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीको कार्यव्यस्तताले आजै साँझ ४ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।












प्रतिक्रिया