१३ कार्तिक २०८३, शुक्रबार

बारपाकमा दैनिक २२ घण्टा विद्युत् कटौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalगोरखा, २२ पुस । गत वैशाखसम्म दैनिक एक मिनेट पनि विद्युत्भार कटौती नहुने बारपाकका उपभोक्ताले अहिले दैनिक २२ घण्टा विद्युत् कटौतीको मार खेप्नु परेको छ ।

भूकम्पले स्थानीय बारपाक साना जलविद्युत् आयोजनामा पु¥याएको क्षतिले गर्दा विगत नौ महिनादेखि बारपाकबासीले विद्युत् कटौतीको मार खेप्दै आएका हुन् ।

भरखरै मात्र जलविद्युत् आयोजना मर्मतको काम सुरु गरिएको छ । रु ८५ लाख खर्च गरेर आयोजना पुनःनिर्माण गर्न लागिएको हो । स्थानीय युवा वीरबहादुर घलेको एकल लगानीमा २०४८ साल साउनदेखि बारपाकमा बिजुली बलेको थियो । आयोजना प्रमुख घलेका अनुसार भूकम्पले विद्युत्गृह, कुलो र खम्बा ध्वस्त भएको छ ।

गाउँदेखि केही टाढाको खोलाबाट ९५ किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको थियो । बारपाक गाविसका वडा नं ४, ५, ६, ७, ८ र ९ का करिब १,२७२ घरधुरीका स्थानीयले विद्युत् उपभोग गर्नुका साथै स्थानीयस्तरमा घरेलु तथा साना उद्योगहरु पनि सञ्चालनमा आएका थिए । अहिले ती उद्योगहरु बन्द छन् ।

भूकम्पपछि टहरा उज्यालो बनाउन घलेको सक्रियतामा रु आठ लाख खर्चेर ५० केभिए क्षमताको जेनेरेटर जडान गरिएको छ । नाकाबन्दीले गर्दा डिजेलको अभाव भएपछि दैनिक साँझ ६ बजेदेखि ८ बजेसम्म मात्रै बिजुली छाड्ने गरिएको हो । “दिनको दुई घण्टामात्रै बत्ति बाल्न पाइन्छ”–बारपाक–४ का तेजबहादुर घलेले भन्नुभयो, “२२ घण्टा विद्युत्भार कटौतीको मार खेप्दै आएका छौँ ।”

विद्युत् नहुँदा सञ्चार सुविधाबाट वञ्चित

बिजुली नहुँदा भूकम्पपीडित सञ्चार सुविधाबाट पनि वञ्चित छन् । बेलुकीपख रेडियो सुन्न पाएपनि स्थानीयको भरपर्दो सूचनाको स्रोत कटुवाल हुन् । गाउँमा केही कार्यक्रमको तय भएपछि कटुवालले जानकारी दिन्छन् । “माघको अन्तिम सातासम्म आयोजनाको मर्मत सक्छौं”–आयोजना प्रमुख घलेले भन्नुभयो ।

बारपाकमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन पुगेको छैन । भूकम्पपछि गोरखाका २५ गाविसमा रहेका लघु जलविद्युत् आयोजना बिग्रेका छन् । मर्मत गर्ने आवश्यक बजेट नहुँदा आयोजनाको मर्मत गर्न सकिएको छैन । रासस