काठमाडौँ, २२ पुस । वन तथा भू–संरक्षण मन्त्रालयले वन क्षेत्रको जलवायु परिवर्तन कम गर्न विकसित मुलुकसँग सहकार्य गरेको छ ।
विकसित देश अमेरिका, नर्वेलगायतका देशमा दोस्रो विश्वयुद्धपछि भएको चरम विकासले अविकसित मुलुकमा कार्बन उत्पादनमा वृद्धि भएसँगै नेपालको वन क्षेत्रमा भएको जलवायु परिवर्तन कम गर्न विकसित मुलुकसँग सहकार्य गरेको हो ।
वन क्षेत्रमा भएको कार्बनडाइअक्साइडलाई कम गर्न नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपालको वन क्षेत्रमा भएका जलवायु परिवर्तनलाई कम गर्न लागेको हो ।
यस्तै अनुकुल विकसित देशले अविकसित देशलाई वन क्षेत्रमा भएको जलवायु परिवर्तनलाई कम गर्न आर्थिक सहयोग समेत गरेका छन् । यसका लागि प्रत्येक एक मेट्रिक टन कार्बन उत्सर्जन कम गरेमा विश्व बैँकमार्फत पाँच अमेरिकी डलर दिने सम्झौता समेत गरेको छ ।
मन्त्रालयले वन क्षेत्रमा हुने कार्बनडाइअक्साइडलाई कमी गर्नका लागि रेड कार्यान्वयन केन्द्रमार्फत काम गरिरहेको छ । जथाभावी रुख कटानी, आगालागी र भूक्षय हुँदा वन क्षेत्रमा कार्बनडाइअक्साइडको मात्रा बढेको केन्द्रले जनाएको छ ।
विश्वमा १७ प्रतिशत वन विनाशका कारण कार्बनडाइअक्साइड उत्पादन हुने गरेको छ । हाल केन्द्रले तराईका रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देहीलगायतका १२ जिल्लामा रहेका वन क्षेत्रमा भइरहेको कार्बन उत्सर्जनको बारेमा पहिलो चरणको अध्ययन पूरा गरेकोे केन्द्रका प्रमुख मनबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँले अध्ययन गरिएका १२ जिल्लामा अहिले दुई करोड १७ लाख ६९ हजार ६८५ मेट्रिक टन कार्बनडाइअक्साईड उत्पादन हुने गरेको बताउनुभयो । खड्काले उत्पादित कार्बनलाई न्यूनीकरण गर्न आफूहरु लागेको र भविष्यमा देशभर वन क्षेत्रको कार्बन उत्सर्जन कार्यमा लागिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सन् २०२० सम्ममा १४ लाख मेट्रिक टन कम गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”यस्तै कार्बनडायअक्साइडको बारेमा जनचेतनाको विकास, क्षमता अभिवृद्धि, मापन विधि अध्ययन प्रक्रिया सम्पन्न गरिसकिएको केन्द्रले जनाएको छ ।
केन्द्रले दोस्रो चरणमा वन अतिक्रमण हुन नदिने, वृक्षारोपण गर्ने, वनको संरक्षण गर्ने, वनमा आश्रित भएका जनतालाई वैकल्पिक बाटोको खोजी गर्ने सहायक वन अधिकृत भरतप्रसाद भट्टले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया