
काठमाडौं, २२ पुस । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले बुधबारदेखि कालोबजारी र बढ्दो महंगीविरुद्ध देशव्यापी अभियान सुरु गरेको छ ।
यसैक्रममा युवा संघले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा भैरहेको कालोबजारी नियन्त्रण गर्न माग गर्दै बुधबार युवा संघले बबरमहलस्थित केन्द्रीय कार्यालय घेराउ गरेको युवा संघका केन्द्रीय विभाग सदस्य सञ्जीव रोकाले जानकारी दिए ।
करिब ४ सय युवाको घेराउ कार्यक्रममा बोल्दै युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले पेट्रोलियम पदार्थमा भइरहेको चरम कलोबजारी नियन्त्रण गर्न माग गरे । उनले भने- नाकाबन्दीको बहानामा उपभोक्ता ठग्ने, पेट्रोल, ग्यासको कालोबजारी गर्ने कार्य तत्काल बन्द हुनुपर्छ ।

अध्यक्ष पहारीले तत्काल कालोबजारी नियन्त्रण गर्न सरकारको समेत ध्यानाकर्षण गराए । आपूर्ति गणेशमान पुनको नाम लिँदै पहारीले भने– युवा आन्दोलनबाट स्थापित व्यक्तित्व अहिलेका आपूर्तिमन्त्री छन् । जनयुद्धकालमा जुवातास खुवाउने वाइसियलका इन्चार्ज (आपूर्तिमन्त्री पुन) अहिले यत्रो भ्रष्टाचार हुँदा केही नबोल्ने ? उहाँकै कार्यकालमा कालोबजारी भएको छ । तत्काल छानविन गरियोस् र दोषीलाई कारवाही गरियोस् । चीनसँगका नाका तत्काल खोल्नुस् ।

अध्यक्ष पहारीले आयल निगमबाटै कलोबजारी भइरहेको आरोप लगाए । ‘सरकारको निकाय आयल निगमबाटै कालोबजारी भएको प्रमाण हामीले फेला पारेका छौ । दोषीलाई तुरुन्त कारवाही होस्,’ उनले चेतावनी दिँदै भने– ‘सरकारले कारवाही नगरे हामी एक एकको पहिचान गरी कारवाही गर्छाै र कानुनको जिम्मा लगाउँछौं ।’
उनले कलोबजारी नियन्त्रण नगरे आपूर्तिमन्त्रीलाई नछाड्ने बताए । ‘कालोबजारी नियन्त्रण गर्न नसक्ने युवामन्त्रीले पदमा बस्नुहुँदैन्,’ उनले भने ।
घेराउ कार्यक्रममा उपभोक्ता हित मञ्चका अध्यक्ष ज्योती बानियाँ, युवा संघका महासचिव किरण पौडेलले मन्तव्य राखेका थिए । हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी युवा संघले तत्काल कालोबजारी र मुल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।
















प्रतिक्रिया