काठमाडौँ, २१ पुस । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा नेपाली काँग्रेसका रामहरि खतिवडाले पूर्वअर्थमन्त्री रामशरण महत भूकम्पपछिको मुलुकको पुनर्निर्माणका निम्ति विश्व समुदायबाट ठूलो धनराशि भित्र्याउन गर्नु भएको योगदानको कदरस्वरुप ‘फाइनान्स मिनिस्टर अफ द इयर’ घोषित हुनुभएकामा सदनले धन्यवाद प्रस्ताव पारित गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली–नेपालीबीच झैंझगडा, मनोमालिन्य, जातपात र भेदभावका विषयमा कलह भइरहेको सन्दर्भमा डा महतको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय समुदायले गरेको मूल्याङ्कनबाट नेपाल र नेपालीको गरिमा बढेकाले धन्यवाद प्रस्ताव पारित गर्न जरुरी भएको बताउनुभयो ।
सोही पार्टीका कमल पङ्गेनीले कालोबजारी र कृत्रिम अभावले जनता आहत छन् भन्दै भूकम्पपीडितका लागि न्यानो कपडाका लागि विनियोजित रकम वितरण हुन विलम्बको कारण माग गर्नुभयो ।
नेकपा (संयुक्त) का जयदेव जोशीले भूकम्पबाट आहत भएका नेपाली जनतामा अघोषित नाकाबन्दीले थप पीडा थपेको भन्दै मधेसका समस्या शीघ्रातिशीघ्र समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डा महतप्रति धन्यवाद प्रस्ताव पारित गर्नुपर्ने सांसद खतिवडाको प्रस्तावको समर्थन पनि गर्नुभयो । तराई–मधेसमा आन्दोलनरत दलका केही सांसद्ले भने सभामुखको आसन अगाडि उभिएर नाराबाजी गरिरहनुभएको छ । रासस












प्रतिक्रिया