काठमाडौं, २१ पुस । ठगी गरेर विदेश भाग्न लागेका एक म्यानपावरका मालिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको छ ।
सिंगापुर पठाइदिने भन्दै ३९ लाख रुपैयाँ लिएर ६ जनालाई ठगी गर्ने ललितपुर ग्वार्कोमा नेल्को ईन्टरनेश्नल म्यानपावरका प्रबन्धक २४ वर्षीय विजयराज खड्का पक्राउ परेका हुन् । उनलाई सोमबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले विमानस्थलबाट पक्राउ गरेको हो ।
आरोपी खड्काले काठमाडौ चन्द्रा गिरी नगरपालिका ७ बस्ने सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाश कुमार पाख्रिन, कुमार श्रेष्ठसमेत ६ जनालाई सिंगापुर तालिममा पठाई तालिम सकिएपछि पानी जाहाजमा रोजगारी दिलाउने भन्दै गैरकानुनी रुपबाट प्रतिव्यक्ति ६ लाख ५० हजारका दरले ३९ लाख रकम लिएर ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६ जनालाई ठगेर विदेश भाग्न लागेको अवस्थामा झापा घर भएका खड्कालाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा महाशाखाको टोलीले पक्राउ गरेको हो । ठगी मुद्दामा आवश्यक कारवाहीका लागि खड्कालाई महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।















प्रतिक्रिया