६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दी कडा बनाउन भारतले चिनियाँ कन्टेनर रोक्न थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese_Container_stopped india nepalकाठमाडौं, २१ पुस । रक्सौलबाहेकका नाकाबाट पेट्रोलियमलगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने भारतले विभिन्न बहानामा सीमा क्षेत्रमै रोकेको छ ।

सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन् ।व्यापारीहरूका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमा केही कमी भएको बताए। ‘तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि अहिले चीनबाट आउने सामान पनि कलकत्ता बन्दरगाहबाट आउँछ’, उनले भने।

उनका अनुसार पछिल्लो सातादेखि भारतीय पक्षले पेट्रोलियम पदार्थ पठाउन प्राथमिकता दिएका कारण पनि अन्य मुलुकबाट आउने कन्टेनर भित्रिन कमी आएको हुनसक्छ।भूकम्पका कारण तातोपानी नाका बन्द तथा रसुवागढी नाका सहज हुन नसकेकाले अहिले चीनबाट आउने कन्टेनरसमेत कलकत्ता बन्दरगाह हुँदै नेपाल आउने गरेका छन्।

मेची भन्सार कार्यालय काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने तेस्रो देशका कन्टेनरमध्ये करिब आधामा चिनियाँ सामान हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

मेची भन्सारकै कर्मचारीहरू नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कम कन्टेनर पठाइरहेको बताउँछन् ।

‘भारतबाहेक अन्य देशबाट आएका कन्टेनर सहज ढंगबाट आउन सकेका छैनन्’, नेपाल फ्रेटफवार्ड एसोसिएनका अध्यक्ष राजन शर्माले भने, ‘कन्टेनर छुटाउन भारतीय पक्षलाई घूस दिनुपरेको गुनासोसमेत आएको छ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवकुमार पाण्डेले मगाएका सामान बोकेका दर्जनौं कन्टेनर काँकडभिट्टाबाट आउन नपाएर भारतमै थन्किएका छन् ।

उनका अनुसार चीनलगायत अन्य मुलुकबाट आयात गरिएका सामानको प्रयोग नेपालीले कम गरून् भनेर तेस्रो देशका सामान बोकेका कन्टेनरमा भारतले कडाइ गरिरहेको छ ।

उनले भने, ‘यसमा भारतको ठूलो इन्ट्रेस्ट हुनसक्छ।’ तेस्रो मुलुकका सामान बोकेका तथा अन्य नाकाबाट बाटो परिवर्तन गरेर आएका कन्टेनर लामो समयदेखि पूर्वी नाका काँकडभिट्टा हुँदै सहज रूपमा नेपाल आउन सकेका छैनन् । सीमा क्षेत्रमा तीन साताभन्दा बढी बस्नुपर्दा कुटाइसमेत खानुपरेको कन्टेनर चालकले बताए ।

इन्धन ढुवानीमा समस्या नदेखिएको पूर्वी नाकामा तेस्रो देशबाट आयात गरिएका सामान बोकेर आएका कन्टेनरलाई नेपाल प्रवेश गर्न दिन भारतले कडाइ गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए।

भारतीय सीमावर्ती पानीट्यांकी बजारमा तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेका र अन्य नाकाबाट नेपाल प्रवेश गर्न नसकेर बाटो परिवर्तन गरेर आएका करिब ८० कन्टेनर रहेको उनले बताए ।

कतिपय कन्टेनर नेपाल भित्र्याउन खोज्दा भारतीय सुरक्षाकर्मीलगायत विभिन्न समूहले पैसासमेत असुल गर्ने गरेको नेपाली व्यवसायीको भनाइ छ।

केही समयअघिसम्म ३० हजार रुपैयाँसम्म पनि भारतीय सीमा क्षेत्रमा घूस खुवाउनुपरेको व्यवसायी विमल आचार्यले बताए ।

उनले भने, ‘धेरै समूहलाई घूस खुवाउनुपर्ने बाध्यता छ।’ तेस्रो मुलुकबाट सामान भित्र्याएका काठमाडौंका एक व्यवसायीले हालै प्रतिकन्टेनर ३५ हजार भारु प्रहरीलाई घूस दिएका थिए।