
सिरहा, १९ पुस । मधेस अलग देशको नारा लगाउँदै आएका सीके राउतका पाँच नेतालाई राज्यविरुद्धको मुद्दा चलाउने तयारी गरिएको छ ।
शनिबार सिरहाको लहान नगरपालिकाबाट पक्रेका पाँच नेतालाई इलाका प्रहरी कार्यालय लहानले राज्यबिरुद्धको मुद्दा चलाउने तयारी गरेको हो ।
लहान प्रहरीले सिरहाको धनगडीमाइ नगरपालिका बिस्नुपुरकट्टी बस्ने ४० वर्षीय चन्देश्वर महतो, लहान नगरपालिका ८ बस्ने ३० वर्षीय बिष्णु चौधरी, २२ वर्षीय सन्तोष महतो, लहान नगरपालिका २१ बस्ने २० वर्षीय रमेश महतो र वडा न. १३ बस्ने २६ वर्षीय सुदीपराज कुशवाहालाई पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको हो ।
चार जनालाई लहान नगरपालिका वडा न. २१ स्थित कटहा गाउमा रहेको एक बिद्यालयमा बैठक गर्दै गरेको बेला लहान प्रहरीले पक्रेको थियो । भने धनगडीमाई नगरपालिका बस्ने चन्देश्वर महतो लहान नगरपालिका ३ स्थित सफ्टेक क्याम्पस छेउको सडकबाट समातिएका थिए ।
लहान प्रहरीले आइतवार ४ बजे मात्रै उनीहरुमाथि राज्यबिरुद्धको अपराधको मुद्दा चलाइने बताएको हो । लहानका प्रहरी नायब उपरीक्षक उमा प्रसाद चतुर्वेदीले को को माथि मुद्दा चलाइने बारे नबताएपनि पाँच जनामध्ये केहीलाई छाड्ने बताए । उनका अनुसार राज्य बिरुद्ध अपराधको मुद्दा बिशेष अदालतमा चलाइने छ ।
सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले पक्राउ परेकाहरुलाई मुद्दा चलाउने वा छाड्ने बारे छलफल भैरहेको बताए । पक्राउ परेका सबै मधेश स्वराजको वकालत गर्ने सीके राउतका नेता हुन् ।












प्रतिक्रिया