
-किशोर पन्थी / न्युयोर्क
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक वर्ष २०१५ को नयाँ रिपोर्ट सार्वजनिक गर्दै मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएका २३ जना नेपालीहरुलाई अमेरिकाबाट पूर्णरुपमा देशनिकाला गरिएको जनाएको छ । मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठूलो संख्यामा नेपालीहरु पक्राउ पर्दै आएपनि उनीहरुमध्येबाट वास्तविक रुपमै देशनिकालामा पर्नेहरु भने निकै कममात्र रहेका छन् । तिनै कममध्येका २३ जना नेपालीहरु सीमाक्षेत्रमा पक्राउ परेपछि देशनिकालामा परेका हुन् । उनीहरुलाई अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।
आर्थिक वर्ष २०१५ मा अमेरिकी अदालतले जम्मा १ सय ३९ जना नेपालीहरुलाई देश निकालाको आदेश दिएको थियो, जसमध्ये केहीले त्यो भन्दा उच्च अदालतमा पुगेर देशनिकालाको फैसलाबिरुद्ध अपिल गरेका थिए । उच्च अदालतमा अपिलपछि केहीले देश निकाला हुनबाट उन्मुक्ति समेत पाउने गर्छन् । उनीहरुमध्ये केही अमेरिकामा शरणार्थीको लागि आवेदन स्वीकृत नभइसकेपछि स्वेच्छिक रुपमा अमेरिका छाडेर जानका लागि आदेश पाउनेहरु हुन् । उनीहरुमध्ये केही मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्दा पक्राउ नपरेका तर अमेरिकामा शरणार्थीको आवेदन स्वीकृत नभएकाहरु हुन् । केही अमेरिकामा जघन्य अपराध गरेकाकारण देशनिकालामा पर्नेहरु हुन् । अमेरिकी अदालतले देशनिकालाको आदेश दिएका १ सय ३९ जना सबै नेपालीहरु अमेरिका छाडेर जान बाध्य हुँदैनन् । तर उनीहरुमध्ये २३ जनालाई भने युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले बाध्यकारी रुपमा अमेरिकाबाट देशनिकाला गरेको हो ।
विश्वभरका ४ लाख ६२ हजार ४ सय ६३ जनालाई देशनिकाला
युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुशार कुनै उन्मुक्तिबिना अमेरिकाबाट देशनिकाला हुने २३ जना नेपालीहरु प्रायसबै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरुसँगको जम्काभेटमा समातिएकाहरु हुन् । उनीहरुलाई आर्थिक वर्ष २०१५ अर्थात् सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को सेप्टेम्बरभित्रमा अमेरिकाबाट देशनिकाला गरिएको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रिपोर्ट अनुशार आर्थिक वर्ष २०१५ मा अमेरिकी सरकारले विश्वभरका ४ लाख ६२ हजार ४ सय ६३ जनालाई अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको थियो । जसमध्ये २ लाख ३५ हजार ४ सय १३ जनालाई युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको थियो, जसमध्ये ९० हजार १ सय ३ जना सिमा क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने तर कुनै अपराधमा संलग्न नहुनेहरु थिए भने ५ हजार ९ सय ४२ जना गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएकाहरु थिए । बाँकी १ लाख ३९ हजार ३ सय ६८ जना गैरकानुनी रुपमा अमेरिका छिर्ने आपराधिक पृष्ठभूमी भएकाहरु थिए ।
नेपाल ७४ औं नम्बरमा
आर्थिक वर्ष २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८१ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गरेको छ । जसमध्ये सबैभन्दा धेरै देशनिकालामा पर्नेहरु मेक्सिकनहरु रहेका छन् । १ सय ८१ देशमध्ये नेपालीहरु ७४ औं नम्बरमा रहेका छन् । यस अगाडि आर्थिक वर्ष २०१४ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) मार्फत डिपोर्टेशनमा पर्ने नेपालीहरु ६० औं नम्बरमा रहेका थिए । गत आर्थिक वर्षमा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) मार्फत ४४ जना नेपालीहरु डिपोर्टशनमा परेका थिए । उनीहरुमध्ये प्राय सबै मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ पर्नेहरु थिए ।
गत वर्षको तुलनामा यो वर्ष कम नेपालीहरु आइसमार्फत डिपोर्टेशनमा परेका छन् । नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गर्ने घोषणा गरेपछि कैयन नेपालीहरु देशनिकाला हुनबाट बचेका थिए । सन् २०१५ को जुन २४ भन्दा अगाडि गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका कैयन नेपालीहरु अमेरिकाबाट देशनिकाला हुनबाट बचेपनि त्यसपछि पक्राउ परेकाहरुलाई भने टीपीएसले बचाउन सकेन । जुन २४ भन्दा अगाडि नै देशनिकाला भइसकेकाहरु पनि २३ जनाभित्र परेका छन् ।
१५ वर्षमा नै सबैभन्दा कम डिपोर्ट
अमेरिकाले आर्थिकवर्ष २०१५ मा देशनिकाला गरेका विश्वका नागरिकहरुको संख्या १५ वर्षमा नै सबैभन्दा कम रहेको छ । सन् २०१५ मा अमेरिकी सरकारले विश्वभरका ४ लाख ६२ हजार ४ सय ६३ जनालाई अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको थियो जुन सन् २०१४ को तुलनामा १ लाख १५ हजारले कम हो । २०१४ मा अमेरिकाबाट ५ लाख ७७ हजार २ सय ९५ जनालाई देशनिकाला गरिएको थियो । २०१४ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले मात्र ३ लाख १५ हजार ९ सय ४३ जनालाई देशनिकाला गरेको थियो, जबकी यो वर्ष आइसको डिपोर्टमा पर्नेहरु २ लाख ३५ हजार ४ सय १३ जनामात्र रहेका छन् ।
युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले सीमाक्षेत्रमा गस्तीका क्रममा २०१५ मा ३ लाख ३७ हजार १ सय १७ जनालाई पक्राउ गरेको छ । जबकी सन् २०१४ मा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) को गस्तीले विश्वभरका ४ लाख ८६ हजार ६ सय ५१ जना व्यक्तिलाई पक्राउ गरेको थियो । यो तथ्यांकबारे अथ्र्याउँदै होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले भनेका छन् –‘आर्थिक वर्ष २०१५ मा सीमाक्षेत्रमा ३ लाख ३७ हजार १ सय १७ जना व्यक्ति पक्राउ पर्नु सन् १९७२ यताकै दोश्रो कम नम्बर हो । यसको अर्थ अमेरिकामा गैरकानुनी रुपमा छिर्न प्रयास गर्नेहरुको संख्यामा कमी आएको छ ।’
डिपोर्टको फैसला पाउने नेपाली पनि कम
अमेरिकी अदालतले हरेक वर्ष ठूलो संख्यामा नेपालीहरुलाई अमेरिकाबाट देशनिकालाको फैसला गर्दै आएकोमा आर्थिक वर्ष २०१५ मा अमेरिकी अदालतबाट देशनिकालाको फैसला पाउने नेपालीको संख्या ह्वात्तै घट्यो । आर्थिक वर्ष २०१५ अर्थात् सन् २०१४ को अक्टोबर १ देखि सन् २०१५ को सेप्टेम्बर ३० सम्म अमेरिकी अदालतले अमेरिकाबाट देश निकालाको आदेश दिएका नेपालीहरुको संख्या विगत ८ वर्षको तुलनामा सबैभन्दा कम रहेको छ । नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गरेपछि अमेरिकी अदालतले देशनिकालाको आदेश दिएका नेपालीहरुको संख्या ह्वात्तै घटेको हो । आर्थिक वर्ष २०१५ मा अमेरिकी अदालतले जम्मा १ सय ३९ जना नेपालीहरुलाई देश निकालाको आदेश दिएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।
आर्थिक वर्ष २०१५ को अघिल्लो ६ महिनाको अवधिमा अमेरिकाको अध्यागमन अदालतले ८० जना नेपालीहरुलाई अमेरिकाबाट देश निकालाको आदेश दिएको थियो भने पछिल्लो ६ महिनामा ५९ जना नेपालीहरुलाईमात्र देश निकालाको आदेश दिएको थियो । ति मध्ये अधिकांश जुनमा अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जा प्रदान गर्नु अगाडि नै देश निकालाको फैसला पाउनेहरु रहेका छन् ।
अमेरिकामा शरणार्थीका लागि आवेदन दिएपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत युएससीआईएसले त्यस्तो शरणार्थी आवेदनका पक्षमा फैसला नगरेको खण्डमा डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत ईओआईआरमार्फत देश निकालाको प्रकृयामा राख्ने कानुनी व्यवस्था रहेको छ । यसरी देश निकालाको प्रकृयामा राखिएका व्यक्तिले आफू शरणार्थी हुन योग्य रहेको थप प्रमाण अदालतसमक्ष पेश गर्न सकेको खण्डमा उसलाई अमेरिकामा बस्ने अनुमति प्राप्त हुनसक्छ । र शरणार्थी भई अमेरिकामा बस्ने अनुमति प्राप्त गरेको व्यक्तिले ग्रिनकार्डका लागि आवेदन दिन सक्छ । देश निकालाको प्रकृयामा राखिएका व्यक्तिले आफू शरणार्थी हुन योग्य रहेको प्रमाण पेश गरेर अध्यागमन न्यायाधिसलाई सन्तुष्ट पार्न नसकेको खण्डमा त्यस्ता व्यक्तिविरुद्ध अध्यागमन अदालतले देश निकालाको फैसला सुनाउने गर्छ । यसरी देश निकालाको फैसला पाउने अधिकांश नेपालीहरु डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत शरणार्थीको मान्यता पाउन नसकेपछि होमल्याण्ड सेक्युरिटीले देश निकालाको प्रकृयासहित अदालतमा पठाएका व्यक्ति हुन् । त्यो बाहेक अध्यागमनको सन्दर्भ र अपराधका कारण पक्राउ परेकाहरुलाईपनि डिपोर्टेशनको प्रकृयामा लगिन्छ ।
फैसला पाउनेहरु सबै डिपोर्ट हुँदैनन्
अमेरिकाको अध्यागमन अदालतबाट डिपोर्टको फैसला पाउनेहरु सबै डिपोर्ट हुँदैनन् । उनीहरुलाई त्यो फैसलाबिरुद्ध त्यो भन्दा उच्च अदालतमा जानसक्ने व्यवस्था पनि रहेको छ । त्यसैले अधिकांश नेपालीहरु अध्यागमन अदालतबाट डिपोर्टको फैसला पाइसकेपछि त्यो भन्दा उच्च अदालतमा जाने गरेका छन् । उच्च अदालतबाट उनीहरुको पक्षमा फैसला भएमा उनीहरु अमेरिकाबाट देशनिकाला हुनबाट बच्ने गरेका छन् । अर्कातर्फ स्वेच्छिक रुपमा देश निकालाको आदेश पाउने कैयन नेपालीहरु अमेरिकाभित्रै एउटा राज्यबाट अर्को राज्यमा गएर लुकेर बस्ने गरेका कारण पनि डिपोर्टको फैसला पाउने र वास्तविक रुपमा नै डिपोर्ट हुनेहरुको संख्यामा ठूलो अन्तर रहेको छ । अध्यागमन कानुनको उल्लंघनबाहेक अन्य अपराधमा परेकाहरुभने प्राय अनिवार्य डिपोर्टमा पर्ने गरेका छन् ।
आर्थिक वर्ष २०१५ मा अमेरिकी अदालतले जम्मा १ सय ३९ जना नेपालीहरुलाई देशनिकालाको फैसला सुनाएपनि वास्तविक रुपमा नै अमेरिका छाड्नेहरु भने २५ प्रतिशतको हाराहारीमा रहेका छन् । आर्थिक वर्ष २०१४ मा २ सय १५ जना नेपालीहरुले अमेरिकाको अध्यागमन अदालतबाट देशनिकालाको फैसला पाएपनि वास्तविक रुपमा नै अमेरिका छाड्नेको संख्या निकै कम रहेको छ । डिपार्टमेन्ट अफ जस्टिसको तथ्यांक अनुशार आर्थिक वर्ष २०१३ मा २ सय १० जना नेपालीहरुले देशनिकालाको फैसला पाएका थिए तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार यो वर्ष अमेरिकाबाट वास्तविक देशनिकालामा पर्ने नेपालीहरु जम्मा ३९ जना रहेका थिए । त्यस्तै सन् २०१२ मा २ सय २२ जना नेपालीहरुलाई अमेरिकी अदालतले देश निकालाको आदेश दिएपनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार वास्तविक रुपमा देशनिकालामा पर्ने नेपालीहरु यो वर्ष ३८ जना रहेका थिए । सन् २०११ मा देशनिकालाको फैसला पाउनेहरु २ सय ८५ जना भएपनि देशनिकाला हुनेहरु जम्मा ५० जना रहेका थिए । सन् २०१० मा देशनिकालाको फैसला पाउने नेपालीहरु १ सय ६३ जना रहेपनि होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार देशनिकालामा पर्नेहरु ५७ जना रहेका थिए । त्यस्तै सन् २००९ मा १ सय ६७ जना नेपालीले देश निकालाको फैसला पाएपनि ५५ जना देशनिकालामा परेको होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । सन् २००८ मा अदालतबाट देशनिकालाको फैसला पाउनेहरु १ सय ४० जना थिए भने उनीहरु मध्ये ४६ जनालाई वास्तविक देशनिकाला गरिएको थियो । सन् २००७ मा १ सय ३४ जनाले अदालतबाट देशनिकालाको फैसला पाएपनि वास्तविक देशनिकालामा ४३ जनामात्र परे । त्यस्तै सन् २००६ मा १ सय ३० जना नेपालीहरुले अदालतबाट देशनिकालाको फैसला पाएपनि ३० जनालाईमात्र देशनिकाला गरियो । सन् २००५ मा १ सय २७ जनाले देशनिकालकाको फैसला पाएका थिए भने सन् २००४ मा ९८ जनाले । तर यी वर्षहरुमा क्रमश ३८ र ४९ जनामात्र वास्तविक देशनिकालामा परेको होमल्याण्ड सेक्युरिटीको तथ्यांक रहेको छ ।
यो तथ्यांकमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले फिर्ता पठाएकाहरुको विवरण उल्लेख छैन । किनभने युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले कुनै व्यक्तिलाई अदालतको फैसला विना नै सीमाक्षेत्र वा एयरपोर्टबाट फिर्ता पठाउनसक्ने अधिकार राख्छ । त्यसैले माथि उल्लेखित विवरणमा अमेरिकी अदालतबाट देशनिकालाको फैसला पाएर देशनिकालामा पर्नेहरुको संख्यामात्र उल्लेख गरिएको छ ।
नेपालीबिरुद्ध दायर देशनिकालाका मुद्दा
आर्थिक वर्ष सन् २०१५ मा अमेरिकी सरकारको गृहमन्त्रालय सरह मानिने डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले १०५० जना नेपालीहरुबिरुद्ध अमेरिकाबाट देशनिकालाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरेको छ । जसमध्ये ९ सय ९४ जना अमेरिकामा एसाइलम गर्नेहरु, अध्यागमनको सन्दर्भमा पक्राउ पर्नेहरु र युएससीआईएसबाट एसाइलम स्वीकृती नपाउनेहरु रहेका छन् । बाँकी अपराध लगायतका मुद्दामा पक्राउ पर्नेहरु रहेका छन् । अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले देशनिकालाका लागि मुद्दा दायर गरेपनि अध्यागमन अदालतले भने सबैलाई देश निकाला गर्दैन । मुद्दा जित्ने केहीले भने अमेरिकामा बस्नेगरी राहत र ग्रिनकार्डको सुविधा समेत पाउँछन् ।
आर्थिक वर्ष सन् २०१५ मा होमल्याण्ड सेक्युरिटीले १ हजार ५० जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । गत आर्थिक वर्ष सन् २०१४ मा होमल्याण्ड सेक्युरिटीले ८९३ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २०१३ मा होमल्याण्ड सेक्युरिटीले ८२१ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २०१२ मा होमल्याण्ड सेक्युरिटीले ७६८ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये जघन्य अपराधमा संलग्न ६ जना रहेका थिए भने अन्य अपराधमा संलग्नहरु ५ जना रहेका थिए । त्यस्तै सन् २०११ मा होमल्याण्ड सेक्युरिटीले ८४५ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । अघिल्लो वर्ष सन् २०१० मा होमल्याण्ड सेक्युरिटीले ९१० जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये जघन्य अपराधमा संलग्न २ जना रहेका थिए भने अन्य अपराधमा संलग्नहरु ५ जना रहेका थिए । सीमाबाट सीमा सुरक्षा अधिकारीलाई छलेर छिरेकाहरु १०१ जना र इमिग्रेशनको मामलामा ७७९ जना विरुद्ध मुद्दा हालिएका थियो । त्यो बाहेक अन्य मामलामा २३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । जसमध्ये न्युयोर्कको इमिग्रेशन अदालतमा ३६८ जना विरुद्ध, टेक्सासमा १७२ र क्यालिफोर्नियामा १८२ जना विरुद्ध मुद्दा दायर गरिएको थियो ।
त्यसैगरी सन् २००९ मा होमल्याण्ड सेक्युरिटीले ८४८ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २००८ मा होमल्याण्ड सेक्युरिटीले ५२३ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै सन् २००७ मा होमल्याण्ड सेक्युरिटीले ३९५ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये जघन्य अपराधमा संलग्न २ जना रहेका थिए । सन् २००६ मा होमल्याण्ड सेक्युरिटीले ३३० जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २००५ मा होमल्याण्ड सेक्युरिटीले २८८ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेकोमा जघन्य अपराधमा संलग्न एकजना, अन्य अपराधमा संलग्न २ जना , सीमाबाट छिरेका १२ जना र इमिग्रेशनको मामलामा २७३ जना रहेका थिए । सन् २००४ मा २९३ जना, सन् २००३ मा २४२ जना, सन् २००२ मा १२३ जना, सन् २००१ म ७४ जना , सन् २००० मा ६९ जना, सन् १९९९ मा १४७ जना, सन् १९९८ मा १७५ जना र सन् १९९७ मा ३४ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै सन् १९९६ मा २२ जना, सन् १९९५ मा ५२ जना, सन् १९९४ मा १८ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् १९९४ मा मुद्दा दायर गरिएका १८ जनामध्ये सबै इमिग्रेशनसँग सम्बन्धित थिए भने सन् १९९३ मा मुद्दा दायर गरिएका ९ मध्ये ३ अपराध र ६ इमिग्रेशन रहेका थिए । त्यस्तै सन् १९९२ मा ८ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो ।
लेखक न्युयोर्कबाट प्रकाशित हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक हुन् ।















प्रतिक्रिया