१३ कार्तिक २०८३, शुक्रबार

खरखडाइका लागि बर्दिया निकुञ्ज ३ दिन खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bardiya-Nikung

– सुदीप अधिकारी
बर्दिया,१८ पुस । खरखडाइ काट्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज खुला गरिएको छ ।

पहिलो चरणमा ३ दिनका लागि निकुञ्जको पूर्वी सेक्टर बबई पुलदेखि पूर्वी क्षेत्र खरखडाइका लागि खुला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको पूर्वी मध्यवर्ती क्षेत्रका करिव ६० हजार उपभोक्ता निकुञ्जमा खरखडाइ कटाइमा लागेका छन् ।

पूर्वी सेक्टरमा यही पुस १८ देखि २० गतेसम्म तीन दिन खरखडाइका लागि निकुञ्ज खुल्ला गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए ।

विगतका वर्षमा खरखडाईका लागि एकै पटक निकुञ्ज खुला गर्ने गरिएकोमा यस वर्ष भने पूर्वी र पश्चिम सेक्टरमा फरकफरक दिन निकुञ्ज खुला गरिएको छ । बबई पुलदेखि पूर्वी सेक्टरमा पुस १८ देखि २० गतेसम्म र पश्चिम सेक्टरमा पुस २२ देखि २४ गतेसम्म खरखडाईका लागि निकुञ्ज खुला गरिएको छ ।

वन्यजन्तुको आवागमन, गस्ती र सुरक्षालाई मध्यनजर गरी यस वर्ष क्षेत्र छुट्याएर निकुञ्ज खुला गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । निकुञ्ज प्रवेशका लागि ठाकुरद्धारा, मोतीपुर, पाताभार, गोला, आम्बासा, भुरिगाउँ ,सैनवार, रम्मापुरलगायत ६० वटा नाका खुला गरिएको छ ।

मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यक्तालाई मध्यनजर गरि हरेका वर्ष मंसिर तथा पुस माहिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ । निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्ष भरीका लागि घर गोठ छाउन आवश्यक खरखडाइ, सेठा र बाबियोलगाएतका सामग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन ।

खरखडाइ काट्नका लागि हसिँया र डोरी वाहेक अन्य सामाग्री निकुञ्ज भित्र लैजान निकुञ्जले निषेध गरेको छ । खरखडाइ वाहेक काठ दाउरालगाएत अन्य वन पैदवार निकासी गरे कडा कारवाही गरिने निकुञ्जले जनाएको छ ।