
– सरगम भट्टराई
प्रधानमन्त्रीज्यू, संविधान बनेपछि देशले कोल्टो फेर्छ भन्नुहुन्थ्यो, तर उत्तानो पो भयो त ! पञ्चायती ब्यवस्थाका विरुद्ध तपाईँसहितका नेताहरुले झापा विद्रोह गर्नु भो, जनताले अनुमोदन गरिदिए, प्रचण्डको नेतृत्वमा जनयुद्द भो, गणतन्त्रको बहालीसंगै जनताले अनुमोदन गरिदिए। संबिधानसभाले संबिधान बनाउन नसक्दा फेरि तपाईँहरु रुन्चे मुख लगाएर आउनु भो, जनताले अनुमोदन गरेकै हुन्। जनताको अभिभावक तपाईँहरु पो हुनुपर्ने तर आफ्ना सन्तानले गरेको गल्ती सरी जनताले माफ गरैकै छन त ओलीज्यू।
आज देशमा गणतन्त्र छ, जनताको अपेक्षा थियो– दुई सय पचास बर्षदेखिको जहानियाँ राजतन्त्र पछि देशमा बिकासको लहर चल्छ, रोज़गार बढ्छ अनि नातावाद–कृपावादको समूल नष्ट हुन्छ भन्ने । तर के पाए जनताले ?
ओलीज्यू,
म सँग गुनासोहरुको लामो फ़ेहरिस्त छ। तपाईँ त एउटा जीवन्त इतिहास बोकेको मान्छे, कर्णाली र जनकपुरलाई बुझेको मान्छे, माओवादी जनयुद्दको साक्षी बसेको मान्छे । खै त के परिवर्तन जनताको जीवनमा ? देशको राजनीतिमा देशीबिदेशीहरुको हस्तक्षेप भइरहेको बेला तपाईँ प्रधानमन्त्री बन्नु भो, एक थान संबिधान नेपाली जनताको हातमा नपर्दै आएका देशीबिदेशी षड्यन्त्रले तपाईंलाई काम गर्न नदिएको सबैलाई थाहा छ। त्यसैले यत्रो नाकाबन्दीमा पनि तपाईँको धेरै आलोचना भएको छैन् ।
मधेसी दलहरुको काँध थाप्दै भारतले लगाएको नाकाबन्दीले राष्ट्रिय जीवनमा निकै कहालीलाग्दो अवस्थाको सिर्जना भो, जुन गरिब राष्ट्र नेपालले भर्खरै बेहोरेको महाभूकम्पको भन्दा पनि डरलाग्दो र भयावह रह्यो। सर्वसाधारणलाई औषधि, ग्याँस र अत्यावश्यक वस्तुको आपूर्ति नभएर विकराल अवस्थाको सिर्जना भयो, भइरहेकै छ। नाकाबन्दी त छिट्टै खुल्ला तर हाम्रो परनिर्भरता कम गर्ने कार्यक्रम नल्याए हामी कहिल्यै उठ्न सक्ने छैनौं, अघि बढ्न सक्ने छैनौं।
हो ओलीज्यू,
नेपालको राजनीतिमा भारतको हस्त़क्षेप सँधैभरि सहन्न सकिन्न, विश्व उपनिवेश बनाएको अंग्रेज़लाई समेत जितेर बचाएको देश हो। दुई तिहाई बढीले अनुमोदित यो संविधानमा संशोधन गर्न सकिने प्रावधानका बाबजूद भारतले जसरी हस्तक्षेप गर्यो, त्यसले नेपालको सार्वभौमिकतामाथि ठाडो प्रहार भएको छ, यसको जति निन्दा गरे पनि पुग्दैन । दक्षिण एसियामा आफ़नो एकछत्र वर्चस्व क़ायम राख्न भारतले प्रयोग गरेको यो व्रम्हस्त्र त्यतिखेर भारततिरै फर्कने छ, जतिबेला हामीले आत्मनिर्भर वन्ने क़सम खाई केहि कुराको शुरुवात गर्नेछौं।
ओलीज्यू, हावावाट बिजुली निकाल्ने कुरा धेरैलाई हावादारी लाग्यो त्यसैले उडाए, ठिकै छ जलविद्युतको कुरा गरेको भए हुन्थ्यो, सौर्य उर्जाको कुरा गरेको भए हुन्थ्यो, वायो ग्याँसको कुरा गरेको भए हुन्थ्यो, अहिले बैंकमा निष्कृय भई बसेको जनताको पैसाको सदुपयोग हुन्थ्यो । नेपाल जलसम्पदामा ब्राजिलपछिको धनी देश हो भनेर अझै कति पुस्ताले टुकी या मैनवत्ती बालेर पढ्ने हुन ? जबाफ दिनुस् ।
ओलीज्यू तपाई त उखान टुक्काको खानी नै हो ,एउटा उखान छ नि भूतले खाजा खाने बेला भन्ने । त्यस्तै बेला भए पनि तपाई प्रधानमन्त्री त बन्नु भो। तपाईले चाहेमा धेरै कुरा सम्भव हुन सक्छन्।
देशमा नाकाबन्दी हुँदा तस्करीको तेलले सड़क जाम भएको देख्नुभएकै होला, आम मान्छे दाउराको लाईनमा बस्दै गर्दा कैयौँ कालाबजारीहरुले करोडौंको ग्याँस र पेट्रोल भित्र्याएको कुरा त मिडियामा आएकै छ ।यो देशमा देशलाई संकट परेको बेलामा आयल निगमका अधिकारीहरु मिली पम्पमा फ़्यूल टेम्परिंग डिभाइस सेट गर्छन, भूकम्प पीडितका नामको टेन्ट बहालवाला मन्त्रीको घरमा पुग्छ, भूकम्प पीडितका नाममा उच्चस्तरीय नेताका परिवार विदेश भ्रमणमा जान्छन्, भूकम्प पीड़ितहरू त्रिपालमुनि कठ्यांग्रिदै गर्दा माथि पुनर्निर्माण प्राधिकरणको सिईओको वार्गेनिङमा महिनौ बित्छ, देशको लागि खेल्ने खेलाडी म्याच फ़िक्सिङ गर्छन्।
यो त्यही देश हो जहाँ राजनैतिक आवरणमा चरी र घैटे जस्ता गुण्डा नाइकेलाई खुलेआम राजनीतिक संरक्षण दिई शहीद घोषणा गर्न बन्द समेत गरिन्छ।
संविधान घोषणा भएपछि केहि राम्रा काम पनि भएका छन, आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व गरेर विद्या भण्डारी राष्ट्रपति र ओनसरी घर्ती सभामुख भएका छन् ।
ओलीज्यू,
मधेस साँच्चै अन्यायमा परेको छ, सदियौंदेखिका सीमारक्षक मधेसीहरुलाई राज्यले अपमान गरिरहेको छ, उनीहरुका जायज़ माग पूरा गर्न अहिले तपाईँले बाहेक कसैले सक्दैन् तर एम्बुलेन्सबाट थुतेर बिरामी मार्ने, औषधिका ट्रक जलाउने, जिउँदो मान्छेलाई जलाउनेहरु मधेसका सोझा जनताहरु हैनन् तिनीहरुलाई जेल हाल्न तपाईँलाई कस्ले रोक्छ ।
देशको राष्ट्रपति जस्तो महिलालाई बिधवाको उपमा दिई अपमान गर्नेलाई मानवताविरुद्धको अपराधमा जेल हाल्न तपाईँले चाहेमा सक्नुहुन्छ। मधेश पहाडमा हुने महिला हिंसाविरुद्ध कारबाही गर्न निर्देशन गर्नुस्। मधेसका ९० प्रतिशत जनताले तपाईँहरूलाई भोट दिएका हुन् । त्यसैले आम मधेसीको हक़को दुहाई दिएर सत्तारोहण गर्न खोज्ने अंगिकृतेहरुलाई थप अपराध गर्न नदिन जेल हाल्न तपाईँले बाहेक कसैले सक्दैन। देसलाई तीन महिना बढि सम्म ठप्प पार्ने अधिकार आन्दोलनकारीलाई छ भने तपाईहरुलाई भोट दिने ९० प्रतिशत जनतालाईं हिडडुल गर्ने अधिकार छ छैन ? त्यसैले जायज़ माग पुरा गर्नुस् र अझै पनि ठाउँँमा नआउनेलाई जेल हाल्न तपाईँले बाहेक अरुले सक्दैन।
ओलीज्यू,
अख़्तियारले अहिले भटाभट भ्रष्टाचारको आरोपमा छानबिन गरिरहेको बेला तपाईँकै पार्टीका केही नेताहरूले अख़्तियार प्रमुखलाई महाअभियोग लगाउने कुरा गरिरहँदा तिनीहरुलाई ढाकछोप हैन्, अनुसन्धान गर्न निर्देशन गर्न तपाईँलाई कसैले रोक्न सक्दैन। संबैधानिक निकाय पुर्वाग्रह हुन्न र हुनुहुन्न भन्ने सन्देश दिनुस्।
जनता भुकम्प र नाकावन्दीले थलिएको बेला राज्यकोषलाई अरबौं भार पर्ने विशिष्टहरुको सुबिधा रोक्न तपाईँलाई कसैले रोक्न गार्हो पर्थ्यो। हावा नचली पात हल्लिन्न ओलीज्यू, महिनाको बीस हज़ार तलब खाने सामान्य कर्मचारी र केहि आयस्रोत नभएका राजनीतिकर्मीले करोड़ौको घर, गाडी र जमिन किन्दा त्यसलाई अनुसन्धानको दायरामा राख्न निर्देशन दिन तपाईँलाई कसैले रोक्न सक्दैन ।
भ्रष्टाचारको आरोपमा अख़्तियारले समातेका जेल वस्नुको सट्टा १० करोड़ धरौंटी बोकेर हिड्नसक्ने कोषराज वन्त र अन्य भ्रष्ट कर्मचारीहरु र भूतपूर्व मन्त्रीहरुको सम्पति रोक्का गरि कारवाही गर्न तपाईलाई निर्देशन दिन कसैले रोक्न सक्दैन।
ओलीज्यू,
समस्या धेरै छन तर दृढ़ ईच्छा शक्ति भए एकदिनमै धेरै काम गर्न सकिन्छ। राजनीतिदेखि माथि रहेर काम गर्नुस, भ्रष्ट नेता, कार्यकर्ता र कर्मचारीलाई जेल हाल्न निर्देश गर्नुस्। स्वदेशी लगानीलाई प्रोत्साहित गर्नुस, चीनसंगको ब्यापारतर्फ पहल गर्नुस्, भारत विरोधी भावना पैदा गर्नुको सट्टा आत्मनिर्भरता तर्फ केही काम गर्न शुरु गर्नुस ।
तपाईँले चाहेमा धेरै काम हुन्छ। देशमा कानुन छ भन्ने प्रत्याभूति दिनुस्। कालाबजारीहरुलाई जेल हाल्नुस, भारतविरुद्ध हामी लड़्दै गरौंला, पहिले भ्रष्टाचारीहरु विरुद्ध लडौं। यसो गर्दा तपाईको पद अहिले धरापमा परेपनि तपाई जनताको प्यारो प्रधानमन्त्री हुनुहुनेछ। जनताले सँधैभरि सीम्रहने छन । अन्यथा अरुको जस्तै सिंहदरवारमा तपाईँको पनि एउटा फोटो झुण्डिनेछ, नेपालका ३९ औ प्रधानमन्त्री । रोजाई तपाईंको नै ।
लेखक भृकुटी नगरपालिका-६ डाबरा कपिलवस्तुका हुन् ।















प्रतिक्रिया