चितवन, १७ पुस । तेस्रो राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा नेपाल अन्डा उत्पादक सङ्घले आज भरतपुर अस्पतालका बिरामी, कुरुवा र सर्वसाधारणलाई अन्डा वितरण गरेको छ । अस्पताल परिसरमा अन्डाको महत्वको विषयमा आयोजित कार्यक्रममा अन्डा वितरण गरिएको हो । सो अवसरमा पाँच हजारवटा अन्डा वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले अन्डा मानव स्वास्थ्यका लागि महत्वपूर्ण पोषक भएकाले उपयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।
सो अवसरमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशरराज भूर्तेल, पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेल, अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेललगायतले अन्डाको विषयमा आमजनतामा जनचेतना जगाउन सके आत्मनिर्भर भई व्यवसाय टिकाउन सकिने र कम मूल्यमा जनताले पोषक तत्व प्राप्त गर्ने बताउनुभएको थियो ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले अन्डाको सेतो भागमा प्रोटिनको मात्रा अत्यधिक हुने बताउनुभयो । “जसमा ओमेगा थ्री पाइन्छ । जुन अन्य गेडागुडीमा समेत पाइँदैन । ओमेगा थ्रीले स्नायुको कोषिकाको विकास गर्दछ” – उहाँले भन्नुभयो । कार्कीका अनुसार, अन्डाको पहेँलो भागमा क्यारोटिन हुने र जसले आँखाको तेज बढाउने गर्दछ ।
नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ५४ वटा अन्डा उपभोग गर्ने गरेको तथ्याङ्क छ । प्रमुख कार्कीका अनुसार यो दर ६६ पु¥याउने लक्ष्य सरकारको रहेको छ । विकसित मुलुकमा अन्डा उपभोगको दर ९२ वटासम्म रहेको उहाँले बताउनुभयो ।
नेपालमा पोल्ट्री व्यवसायमा झन्डै रु ७० अर्बको लगानी भएको व्यवसायीहरुको भनाइ छ । यस क्षेत्रको लगानी बढ्दै गएपछि व्यवसायीहरुकै मागलाई सम्बोधन गरेर सरकारले तीन वर्षअघिदेखि आजको दिनलाई राष्ट्रिय पोल्ट्री दिवसका रुपमा मनाउन थालेको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले बताउनुभयो ।
नेपालमा दैनिक ४३ लाख वटा अन्डा उत्पादन र खपत हुने गरेको थियो । नेपाल अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेलका अनुसार, अहिलेको विषम परिस्थितिका कारण भने अन्डाको उत्पादन २५ प्रतिशतले कमी आएको छ ।
अन्डा उत्पादनका क्षेत्रमा मात्रै एक लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारीमा छन् भने २५ हजारले व्यवसाय गरिरहेका छन् । भूकम्प र नाकाबन्दीका कारण प्रतिक्रेट रु १६० सम्म झरेको अन्डाको मूल्य हाल बढेर रु १८० प्रतिक्रेट पुगेको उहाँले बताउनुभयो ।
नेपालमा १७८ वटा ह्याचरीले चल्ला उत्पादन गरिरहेका छन् भने १२० वटा दाना उद्योगले दाना उत्पादन गरिरहेका छन् । दैनिक २७ हजार मेट्रिकटन दाना खपत भइरहेको छ भने चार लाख केजी मासु बजारमा खपत हुने गरेको व्यवसायीहरुको भनाइ छ । पोल्ट्री व्यवसाय नेपालको आत्मनिर्भर व्यवसाय हो । रासस















प्रतिक्रिया