
काठमाडौँ, १४ पुस । व्यवस्थापिका-संसद, राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीको नेतृत्वमा रहेको संसदीय टोलीले आज प्रहरी प्रधान कार्यालयको अवलोनकन भ्रमण गरेको छ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतसमेतको सहभागिता रहेको टोलीले नेपाल प्रहरीका उच्चपदस्थ अधिकृतहरूसँग अन्तरक्रिया गरी नेपाल प्रहरीको काम कारबाही र कार्य योजनासहितका विविध विषयमा जानकारी लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

सो अवसरमा उहाँहरूले प्रहरी स्मारक, डिजिटल फोरेन्सिक ल्याब, पोलिग्राफ र कमान्ड सेन्टरबारे जानकारी लिनुभएको थियो ।
अवलोकनपछिको अन्तरक्रियामा समितिका सभापति घर्तीले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा नेपाली जनताले अत्यन्त भरोसा गरेको सङ्गठनका अप्ठयारा सुधार गर्न समितिले सहयोग पु¥याउने विश्वास दिलाउनुभयो ।

गृहमन्त्री बस्नेतले वर्तमान अवस्थामा शान्ति सुरक्षा सम्बन्धमा मन्त्रालयले तय गरेका नीतिगत तथा प्राथमिकताका विषयबारे जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “बदलिँदो परिस्थिति र असहज वातावरणमा आवश्यक रणनीति तय गरी कानुन तथा सरकारको नीति कार्यान्वयन गर्न मन्त्रालय कटिबद्ध छ ।”

प्रहरीको सोच तथा कार्यशैली परिष्कृत गर्नेलगायत नीतिगत सुधार, व्यावहारिक कार्यशैलीको विकास गर्ने र समझदारी गर्ने कुराप्रति मन्त्रालय सजग रहेको उहाँको भनाइ थियो ।

संसद सचिवालयका सचिव मुकुन्द शर्माले सङ्गठनमा भएका अप्ठेरो हटाउने, नेपाल सरकारसँग समन्वय गर्न प्रत्यक्षरुपमा सहयोग गर्ने तथा समिति र नेपाल प्रहरीको सम्बन्ध सुमधुर बनाउने भ्रमणको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हरेक परिवर्तनको सङ्घारमा मुलुकको शान्ति सुरक्षा चुनौतीपूर्ण हुने चर्चा गर्दै यस अवस्थामा राज्यको जिम्मेवार निकायको रुपमा प्रहरी सङ्गठनले कुनै सम्झौता नगरी व्यावसायिकरुपमा सफल हुने काम गर्न सक्षमता प्रदर्शन गर्दै आएको जानकारी दिनुभयो ।












प्रतिक्रिया