
काठमाडौं । उमेरले भरखरै २५ पुगेका लोकदोहरी गायक हुन्, शरणकुमार माझी । गीतसंगीतको नशाकै कारण शरण यो क्षेत्रमा लागेका हुन् । उनी गीतसंगीतमा लाग्नकै लागि ०६४ सालमा राजधानी आएका हुन् । अहिले पनि उनी गीतसंगीतकै क्षेत्रमा क्रियाशील छन् ।
अहिलेसम्म नाम चल्न नसके पनि दोहरी साँझ र लोक तथा दोहरी गीतहरूमा स्वर दिएरै राजधानीको महँगो बसाइ धानीरहेका शरणले केही गीतहरूमा संगीत पनि गरेका छन् । आफ्नो संगीत र स्वर मनपराएरै काम पाएको शरणले सुनाए ।
‘गीतसंगीतको क्षेत्रमा लागेको थुप्रै भइसकेको छ’, उनले भने, ‘अब बल्ल राम्रो सुरुवात गर्दैछु । काम पनि आउन थालेको छ । पहिला विश्वास गर्दैन थे । अब गर्न थालेका छन् ।’
दाङ जिल्लाको पञ्चकुले गाविस स्थायी घर भएका शरणको आम्दानीको स्रोत गीतसंगीत नै हो । आफूले जानेको गीतसंगीतको पेशालाई उनले पेशाकै रुपमा अगाडि बढाएका छन् ।
शरणले आफ्नै स्वर दिएका र चलेका गीतहरूमा ‘सिन्कीलाई पकाउनु पर्दैन…………..’, ‘चिठ्ठी फोटो जल्न बाँकी छ……………’, ‘लैजान्छु तिमीले मानेमा…………’ बोलका गीत पर्छन् । उनको ‘माछी तालैमा……………’ लोकदोहरी गीत बजारमा आउने अन्तिम चरणमा छ । यसमा शब्द, संगीत र स्वर शरणकै आफ्नै छ ।
नेपाली कला क्षेत्रमा रहरले आउने धेरै छन् । तर शरण भन्छन्, ‘म गीतसंगीतको क्षेत्रमा रहरले मात्रै आएको होइन । यसैलाई पेशा बनाउँछु भनेर आएको हुँ । सफल पनि हुँदै गएको छु ।’
दोहरी साँझामा आउने अनेकौ दर्शक स्रोताको मन गीत गाएरै बुझाएका शरणको मन, भने गीतसंगीतमा अझै चित्त बुझेको छैन । ‘म राम्रा गीतहरू बनाउन चाहन्छु’, उनले भने, ‘स्वर मात्रै दिएर पुग्दैन । गीतमा संगीत पनि दिनुपर्छ । त्यसपछि आफूले भने जस्तो श्रृजना बन्छ ।’
लोकदोहरीमा मात्रै आफूलाई शरणले सीमित नराख्ने बताउँछन् । उनले आधुनिक र फिल्मका गीतहरूमा पनि स्वर र संगीत गर्ने योजना बनाइरहेको बताए । ‘मसँग क्षमता र सीप छ’, उनले भने, ‘फिल्मको गीत गर्ने मौका पाएको छैन । पाएँ भने राम्रो गर्छु ।’















प्रतिक्रिया