२३ कार्तिक २०८३, सोमबार

मधेसका ‘खम्बा’ यादवको हत्या भएपछि एमाले स्तब्ध, हत्यारालाई कारवाहीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-Central-Officeकाठमाडौं, १४ पुस । नेकपा एमालेले सर्लाहीमा आफ्ना नेता रामनरेश राय यादवका हत्यारालाई सम्पूर्ण शक्ति परिचालन गरेर कारवाही गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेले हत्याको घोर निन्दा र भत्र्सना गरेको हो । महासचिव ईश्वर पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘सम्पूर्ण तागत लगाएर हत्याराहरुलाई गिरफ्तार गरी कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।’

एमालेले यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट समेत गरेको छ । दिवगंत नेता यादवलाई एमालेले तराई÷मधेस क्षेत्रको बलियो खम्बा भनेको छ ।

नेकपा एमाले सर्लाही जिल्ला कमिटी सदस्य यादवको आज विहान मर्निङवाकमा हिडिरहेका बेला अज्ञात समूहले धारिलो हतियार प्रहार गरी सडकमै हत्या गरेको थियो ।

यस्तो छ नेकपा एमालेद्धारा जारी विज्ञप्ति जस्ताको तेस्तैः

नेकपा (एमाले) जिल्ला कमिटी सर्लाहीका सदस्य रामनरेश राय यादवको आज बिहान हत्या भएको खबरले हाम्रो पार्टी स्तब्ध भएको छ । आज २०७२ पुस १४ गते सर्लाही जिल्लाको हेमपुर गाविसस्थित वडा नं. ७ मा आफ्नै निवासबाट मर्निङ वाक जानेक्रममा अपराधिक समूहले धारिलो हतियार प्रयोग गरी उहाँको निर्ममतापूर्वक हत्या गरी स्थानीय उखुबारीमा उहाँको शव फालिदिएका थिए ।

कमरेड रामनरेश यादव पार्टीको जिल्ला कमिटी सदस्य साथै जिल्ला विकास समितिको पूर्व सदस्यका रुपमा नेकपा (एमाले)को विचार र संगठन विस्तारमा सक्रिय हुनुहुन्थ्यो र उहाँ उक्त क्षेत्रको लोकप्रिय समाजसेवीका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।

कमरेड रामनरेश राय तराई/मधेस क्षेत्रमा नेकपा (एमाले)को बलियो खम्बा हुनुहुन्थ्यो । पछिल्लो समयमा नेपाल राष्ट्र, नेपालको संविधान र राष्ट्रिय एकताका सन्दर्भमा फैलाइएका गलत भ्रमहरु चिर्न र आम जनतालाई वास्तविक कुरा बुझाउन सक्रियतापूर्वक लाग्नुभएको थियो । गत मंसिर २१ र २२ गते चितवनको सौराहामा सम्पन्न भएको पार्टीको राष्ट्रिय भेलामा समेत सहभागी भई तराई–मधेसको वास्तविकताका बारेमा स्पष्ट कुरा राख्नुभएको थियो ।

हाम्रो पार्टी नेकपा (एमाले) उहाँको हत्याको घोर निन्दा र भत्र्सना गर्दछ । सम्पूर्ण तागत लगाएर हत्याराहरुलाई गिरफ्तार गरी कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । कमरेड रामनरेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछ साथै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै पछिल्ला दिनमा तराई–मधेसमा बिग्रदो शान्ति सुरक्षाको अवस्था तथा जनताले भोग्नु परिरहेको असुरक्षाको बारेमा ठोस कदम चाल्न सरकारसमक्ष माग गर्दछ ।

ईश्वर पोखरेल
महासचिव
नेकपा (एमाले)