२९ आश्विन २०८३, बिहिबार

एमालेमा को–को नेताले चोर्दैछन् भोट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cross-Voting

काठमाडौं, २७ असार । नेकपा एमालेको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि रस्साकस्सी जारी छ ।

चुनावी अभियानदेखि टिम घोषणासम्म आइपुग्दा एमालेमा दुई वटा टिमले लोकतान्त्रिक अभ्यास गर्दैछन् । तर, टिमै घोषणा गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीको पूरै टिमले भने नजित्ने पक्कापक्की नै छ । जुन यसअघिको वुटवल महाधिवेशनले पनि देखाइसकेको छ ।

प्यानलमा परे पनि निश्चित नभएका कारण नेताहरु यतिबेला भोट चोर्न र कार्यकर्तालाई आफ्नो पोल्टामा पार्न व्यस्त छन् । अध्यक्षमा त्यति धेरै क्रस भोटिङ नभएपनि अन्य पदमा भने छासमिस हुन सक्ने भन्दै निगरानीका लागि दुवै टिमले सुराकीहरु खटाएको स्रोतले बताएको छ ।

उपाध्यक्षमा उपाध्यक्ष वामदेव गौतमको क्रस भोटिङ हुने दाबी गरिएको छ । केपी समूहमा पनि पुगे पनि उनीसँगै नगएर माधव समूहमै बसेको पुरानो माले टिमले गौतमलाई भोट हाल्ने भएको छ । त्यसका लागि आन्तरिक रुपमा निर्देशन समेत दिइएको बताइएको छ । माधव नेपाल समूहको पदाधिकारीमै परेका केही नेताहरुले समेत गौतम र किरण गुरुङलाई भोट दिन आन्तरिक रुपमा लबिङ गरेपछि नेपाल समूहमा मात्र होइन, ओली समूहमा समेत हंगामा भएको बताइएको छ ।

यता, सुदूरपश्चिमको राजनीतिमा वर्चश्व कायम गरेका माधव नेपाल समूहका उपाध्यक्षका उम्मेदवार भीम रावललाई सुदूरपश्चिमका ओली पक्षीय प्रतिनिधिले पनि भोट दिने भएका छन् ।

उपाध्यक्ष भन्दा सबैभन्दा बढी भोट एमाले महासचिव इश्वर पोखरेलले चोर्ने मतदानस्थलमा चर्चा छ । ओली समूहमा रहेपनि गतिशील र एमालेका भविष्यका आशालाग्दा नेता भएका कारण पोखरेलले माधव नेपाल–झलनाथ खनाल निकटस्थ नेताहरुको पनि भोट पाउने स्रोतको दाबी छ ।

सचिवमा प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुङ, गोकर्ण विष्ट र योगेश भट्टराईका लागि सबैभन्दा बढी क्रस भोटिङ हुने अनुमान गरिएको एमालेका एक नेताले बताए ।