३० आश्विन २०८३, शुक्रबार

पर्वतमा प्रहरीले ल्यायो अपराध रोक्न वैज्ञानिक प्रविधि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

फलेवास (पर्वत), २७ असार । अपराध अनुसन्धान प्रक्रियामा स्वच्छता कायम गराउने उद्देश्यले पर्वतमा पहिलोपटक वैज्ञानिक प्रविधिमार्फत अपराध अनुसन्धान कार्य सञ्चालन गरिएको छ ।

जिल्लामा पछिल्लो समयमा घटनाहरु बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रियामा रहेका घटनालाई पोलिग्राफ टेस्टिङमार्फत अनुसन्धान गरेको हो । नेपाल प्रहरीको मातहतमा केन्द्रीयस्तरमा उपलब्ध उक्त प्रविधिलाई एक साताको अन्तरालमा विभिन्न तीनवटा घटनामा यो प्रविधि प्रयोग गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“घटनाका आरोपितलाई वैज्ञानिक पद्धतिद्वारा वास्ताविकता पहिचान गरी सत्यतथ्य छुट्याउन यो प्रविधिबाट अनुसन्धान गरिएको हो”–उहाँले भन्नुभयो ।

कतिपय घटनाहरुमा विवाद उत्पन्न भएको र पीडितले निष्पक्ष रुपमा न्याय नपाएको पीडकलाई प्रश्रय दिएको गुनासोहरु प्रहरीले व्यहोर्नु परेपछि पोलिग्राफ प्रविधि प्रयोगमा ल्याएको हो । यसको प्रयोग गर्ने क्रममा प्रश्न सोध्ने व्यक्तिले सुरुमा सामान्य अवस्थामा ल्याउनका लागि केही खालका प्रश्न सोध्ने र त्यसपछि मात्रै आवश्यक प्रश्न सोध्ने गर्दछन् ।

प्रश्न सोध्न र उत्तर आउन थालेपछि व्यक्तिका गतिविधि सङ्केतका रुपमा रेकर्ड हुन थाल्छन् । यसरी बोल्दा सामान्यतया उत्तर दिने व्यक्तिले झुट बोल्दैछ भने मुटुको धड्कन बढ्ने, रक्तचाप उच्च हुने र पसिना आउने सङ्केत देखा पर्दछ । अपराधी अनुसन्धान प्रक्रियामा कारबाही प्रक्रियामा पोलिग्राफ मेसिनको प्रयोगबाट सहज भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस