६ कार्तिक २०८३, शुक्रबार

जसले रमिता हेर्दा प्रहरीको गोली खाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolसप्तरी । सप्तरीको भारदह–१ का राजीव राउत जारी मधेस आन्दोलनमा प्रहरीको गोलीले मारिएका पहिलो व्यक्ति हुन्। मधेसी मोर्चाले आह्वान गरेको साउन ३१ र ३२ को बन्द अनिश्चित बनेपछि भदौ १ मा भारदहमै भएको झडपमा उनी मारिए।

२४ वर्षे उनी राजनीतिमा क्रियाशील थिएनन्। संघीय समाजवादी फोरमले राउत आफ्नो कार्यकर्ता दाबी गरेपनि उनीनिकटहरू भने फोरमको भनाइप्रति आश्चर्य मानिरहेका छन्। निकै कमजोर आर्थिक अवस्थाका उनी तीन–चार वर्षयता केरा खेती गरेर परिवार पाल्दै थिए। ‘५ वर्षअघि राजीव रोजगारीका लागि मलेसिया गएका थिए तर ठगिए र फर्किए,’ छिमेकी रामु विश्वास भन्छन्, ‘उनको आर्थिक अवस्था कमजोर थियो, त्यसमाथि ठगिएपछि ऋणको भार झन् पर्यो।’

त्यसपछि अरूको सल्लाहमै उनले खेत भाडामा लिएर केरा खेती थाले। खेतीबाट राम्रै आम्दानी हुन थालेपछि दुई वर्षमै पुरानो ऋण चुक्ता गरी बिस्तारै उनको परिवार आर्थिक रूपमा बलियो बन्दै गरेको विश्वासले बताए। घटनाको दिन शान्तिपूर्ण आन्दोलन गरिरहेका मोर्चा नेतालाई प्रहरीले कुटपिट गरेको खबर पाएपछि बुझ्न आउँदा झडप भइरहेको थियो। प्रहरीले खोलेको फायरमा पहिलो गोली नै राजीवको छातीमा लागेको विश्वासले देखे। करिब ३ वर्षअघि बिहे गरेका राजीवका एक पत्नी, २० महिनाका छोरा र करिब ४ महिनाकी छोरी छिन्।
भदौ २२ साँझदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा मोर्चाका नेताको जमघट बढ्दै थियो। कम्तीमा ५ हजार जनालाई खाना खुवाउने तयारी थियो। त्यसको जिम्मा लिएका थिए, सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष, सप्तरी हनुमाननगरका नवलकिशोर साह (रामबाबु) ले।

मोर्चाका जिम्मेवार नेताले विरोध गरेपनि त्यहाँ सहभागी एक समूहले छेउका तीन रुख ढालेर राजमार्ग अवरुद्ध गरे। भदौ २३ बिहानैदेखि एसपी शिशिरकुमार कर्माचार्य, सशस्त्र प्रहरी बल दन्तकाली गणका एसपी जनक बोहरालगायत उच्च अधिकारीको नेतृत्वमै प्रहरीले राजमार्गको अवरोध हटाउन थाल्यो। रुख हटाइरहेका बेला प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलायो। गोली लागेर सप्तरीको पोर्ताहा–१ का ६३ वर्षे रामकिसुन राउत मारिए। राजनीतिसँग टाढा रहेका राउत आन्दोलनसँग पनि खासै सरोकार राख्दैनथे।

आन्दोलन सेलाउन थालेपछि मोर्चाले ‘चलु राजमार्ग भरु राजमार्ग’ अभियान चलायो। व्यापक प्रचारसहित मंसिर ५ मा निर्धारित कार्यक्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत रूपनी र भारदहमा भीड ओर्लियो। राजनीतिमा रुचि राख्नेभन्दा पनि लामो बन्दका कारण बेरोजगार किसान, युवा, मजदुरलगायत गाउँ–गाउँबाट राजमार्ग पुगे।

जसरी पनि गाडी रोक्नैपर्ने मोर्चाको अनि मान्छे मारेरै भएपनि गाडी पठाउनुपर्ने प्रशासनको अडान देखियो। झडपमा प्रहरीले गोली चलायो। भारदह र रूपनीमा १–१ जना घटनास्थलमै मारिए। धेरै घाइते भए। त्यहाँ मर्नेहरू पनि राजनीतिमा सक्रिय थिएनन्। भारदहमा मारिएका सप्तरी, डाढा गाविस–७ बलियाका वीरेन्द्र रामको आर्थिक अवस्था दयनीय छ। दैनिक ज्यालादारीमा राजमिस्त्रीको काम गर्ने वीरेन्द्रका एक काखेछोरा छन्। त्यही घटनामा मारिएका सप्तरी, जमुनी मधेपुरा गाविस–९ छपकीका २७ वर्षे नागेश्वर यादव र जमुनी मधेपुरा–३ पर्साहीका १९ वर्षे शिवशंकर दास पनि राजनीतिबाट टाढा थिए। अत्यन्तै न्यून आर्थिक हैसियतका यी युवा मजदुरी गरेर पेट पाल्थे।

मंसिर–५ राति भारदह र रूपनीमा प्रहरीको गोली लागेर सर्वसाधारणको मृत्यु भएको खबरलगत्तै बिहानैदेखि सदरमुकाम राजविराज तनावग्रस्त भयो। स्थानीय युवा र प्रहरीबीच चोक–चोकमा झडप भए। मोर्चाका कुनै नेता नभएकाले स्थिति झन् असहज बन्यो। त्यहीक्रममा प्रहरीले गोली प्रहार गर्दा दुईतल्ले घरमा छोरीसँगै टिभी हेर्दै बसेका राजविराज–१ का युवक व्यापारी दिलीप साहको टाउकामै गोली लाग्यो। उनको तत्कालै निधन भयो। सँगै रहेकी ५ वर्षीया छोरी मुस्कानको हातमा गोली लाग्यो। साह कुनै मधेसवादी दलसँग आबद्ध थिएनन्। उनलाई कांग्रेसले आफ्नो कार्यकर्ता दाबी गर्योा।

मधेस आन्दोलनम प्रहरीको गोलीले मारिएका तथा घाइतेहरू अधिकतर भने राजनीतिबाट टाढा देखिन्छन्। आन्दोलन हेर्न आएकाहरू प्रायः मारिएको र घाइते भएको देखिन्छ। आन्दोलनमा नेतृत्वकर्ता र सुरक्षा अधिकारी पनि जिम्मेवार नहुँदा स्थिति अराजकतातिर मोडिएको, सर्वसाधारणको ज्यान जाने अवस्था बनेको जानकारहरू बताउँछन्। मान्छे मारिएका सबैजसो विरोधका कार्यक्रममा मोर्चाको जिम्मेवार नेता नदेखिनुले उनीहरू जसरी पनि तनाब उत्पन्न गराएर आन्दोलन चर्काउने रणनीतिमा देखिएको विश्लेषकहरूको टिप्पणी छ । नागरिक दैनिकमा खबर छ ।