काठमाडौं, १२ पुस । रोजगारीका लागि मलेसिया आएकी चितवनकी कमला बराल सोचेअनुसारको कमाइ नहुँदा निराश बनेकी छन् ।
मलेसिया छिर्दासम्म उनलाई राम्रै कमाइ गरेर नेपाल फर्किन्छु भन्नेमा पूर्ण विश्वस थियो ।
नेपालबाट पठाउने म्यानपावर कम्पनीले निकै राम्रो कमाइ हुन्छ भन्ने आश्वासन पनि दिएको थियो । तर यहाँ आएर काम गर्न थालेपछि थाहा भयो, ‘मलेसियामा कमाएको पैसाले त ऋण तिर्नमात्रै पुग्ने रहेछ ।’
कमला रोजगारीको खोजीमा मलेसिया आएको एक वर्ष भइसकेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
मासिक ९ सय रिंगेट कमाउन पनि मुस्किल परेको उनले बताइन् । ‘ओभरटाइम पाएका बेलामा भने १२ सय रिंगेटसम्म हुन्छ’, उनले भनिन् ।
नेपालमा म्यानपावर कम्पनी र एजेन्टलाई उनले एक लाख रुपैयाँ बढी पैसा तिरेकी थिइन् मलेसिया आउँदा ।
नेपालमा गरिएको सम्झौता अनुसार कम्पनीले तलब, सुविधा र विदा केही पनि नदिएको उनले बताइन् । ‘बिरामी भएर एक दिनमात्र बिदामा बस्दासमेत कम्पनीले तलब रोकिदिन्छ’, उनले भनिन् ।
कम्पनीमा काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसारको सुविधा नपाएको कमलाको गुनासो छ ।















प्रतिक्रिया