काठमाडौं, ८ पुस । ग्यास उपभोक्ताबाट कुटिएका नेपाल प्रहरीका डीएसपी टिकाबहादुर केसीको खल्तिबाट खोसिएको पेस्तोल अहिलेसम्म फेला पर्न सकेको छैन् ।
मंगलबार अपराह्न किर्तीपुरको चाल्नाखेलमा ग्यास वितरण गर्ने विषयलाई लिएर एभरेष्ट ग्यास कम्पनीमा प्रहरी र स्थानियबीच झडप भएको थियो । उक्त झडपका क्रममा केसीको पेस्तोल हराएको थियो । काठमाडौंका एसपी विश्वराज पोखरेलका अनुसार हराएको दुई दिन पुग्दा समेत पेस्तोल भेटिएको छैन् । अहिले पनि प्रहरीले उक्त पेस्तोल खोजी गरिरहेको छ ।
एसपी पोखरेलका अनुसार हराएको वाकिटकी भने फेला परेको छ । डीएसपी केसीले बोकेको पेस्तोल चाइनिज कम्पनीको हो । जसमा ७ राउण्ड गोली पनि लोडेड थियो ।
ग्यास वितरण गर्ने सहमति अनुसार उपभोक्तालाई ग्यास वितरण नगरेपछि मंगलबार चाल्नाखेलका स्थानीयबासीले एभरेष्ट ग्यास कम्पनीमा तोडफोड गरेका थिए । तोडफोड घटना नियन्त्रण लिने प्रयासमा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा १० जना प्रहरी घाइते भएको थिए ।
यसैबीच आफ्नो पेस्तोलको सुरक्षा गर्न नसकेको भन्दै डिएसपी केसीलाई कारवाही गरिएको छ । उनलाई कारवाही स्वरुप महानगरीय प्रहरी परिसर झिकाइएको छ । किर्तीपुरमा नयाँ डीएसपी पठाउने तयारी भइरहेको छ ।
प्रहरीले पेस्तोल खोसेको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
अनुसन्धान गर्न तीन सदस्यीय छानविन समिति गठन
घटना छानविन गर्न नेपाल प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाको निर्देशनअनुसार डिआइजी मधु पुडासैनीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको हो ।
समितिमा पुडासैनीसहित एसएसपी सर्बेन्द्र खनाल र एसपी विश्वराज पोख्रेल छन् । समितिलाई छानविन गरी प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ ।















प्रतिक्रिया