– सुधासुमन ढकाल
दाङ, ८ पुस । पछिल्लो समय दाङमा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि आएको छ ।
जिल्ला अदालत दाङका अनुसार बैदेशिक रोजगारका कारण श्रीमान श्रीमतीहरु पर पुरुष र परस्त्रीसंग लाग्नु, मादक पदार्थ सेवन गरेर कुटपिट गर्नु, मानिसहरुमा स्वतन्त्र हुने चाहाना बढ्नु लगायतका कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि आएको हो ।
कार्यालयका श्रेष्तेदार बलदेव पाण्डेका अनुसार गत आर्थिक वर्षको मंसिर महिना सम्ममा एक सय ५५ वटा सम्बन्ध बिच्छेदका लागी उजुरी दर्ता भएकोमा ८७ वटा सम्बन्ध बिच्छेद भएका थिए ।
त्यसैगरी चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा एक सय ८५ वटा उजुरी दर्ता भएकोमा एक सय ५ वटा सम्बन्ध बिच्छेद भएका छन । यसरी गत र यस आर्थिक वर्षको मंसिर महिनालाई तुलना गर्दा यो वर्ष दाङमा १८ को संख्याले सम्बन्ध बिच्छेदका घटनामा बृद्धि आएको छ ।
यस्तै गत आर्थिक वर्षको मंसिर महिना सम्ममा दर्ता भएका जम्मा उजुरी मध्ये ६८ वटा उजुरी फैसला हुन बाकी रहेका थिए भने चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा दर्ता भएका जम्मा उजुरी मध्ये ८० वटा उजुरी फैसला हुन बाकी रहेको कार्यालयले जनाएको छ ।
यसैबिच दाङमा सम्बन्ध बिच्छेदका लागी उजुरी दर्ता गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि भएको श्रेष्तेदार पाण्डेको भनाई छ । पुरुषहरुलाई उजुरी दर्ताका लागी प्रक्रिया अलिक झन्झटिलो भएका कारण पनि उजुरी दर्ता गर्नेहरुमा महिलाको संख्या बढि रहेको उहाले बताउनुभयो । महिलाहरुले सिधै अदालतमा गएर उजुरी दर्ता गराउने व्यवस्था छ भने पुरुषहरुलाई सम्बन्धित गाविस वा नगरपालीका हुदै अदालत सम्म पुग्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।।














प्रतिक्रिया