चितवन, ८ पुस । अदालत र प्रहरीबीचमा समन्वय हुन नसक्दा फरार अभियुक्त खुलेआम समाजमा हिँडिरहेका बेला यहाँको प्रहरीले विशेष अभियानका साथ अभियुक्त पक्राउ गर्न थालेको छ ।
जिल्ला अदातल चितवनमा २०११ सालदेखि हालसम्मका फरार अभियुक्तको सङ्ख्या ७९५ जना पुगेको छ । उनीहरुबाट एक हजार ३९९ वर्ष पाँच महिना ११ दशमलव पाँच दिन कैद असुल गर्न बाँकी छ । उनीहरुलाई पक्राउ गरी दण्डित गर्ने कुरामा अदालत र प्रहरीबीच समन्वय हुन नसक्दा अभियुक्तले मुक्ति पाउँदै आएका थिए ।
प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर चितवन आएलगत्त प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले दुई महिना अघिबाट फरार अभियुक्त पक्राउ अभियान सुरु गरेयता ३० जना पक्राउ परिसकेका छन् । उहाँका अनुसार पक्राउ पर्नेमा अपहरण अभियोगमा १० वर्ष कैदी सुनाइएकादेखि ३२ वर्षदेखि फरार भएका वन मुद्दासम्मका छन् ।
आफूमाथि कैदको फैसला भएको भुलिसकेका समेत पक्राउमा परेका उहाँले बताउनुभयो । प्रमुख कुँवरले भन्नुभयो “पक्राउ परेका कतिपयलाई आफूलाई फरार अभियुक्तको रुपमा अदालतले राखेको कुरासमेत बिर्सिसकेका रहेछन् ।”
जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना मातहतका इकाइलाई सो क्षेत्रका फरार अभियुक्तको नामावली पठाएको छ । प्रहरी उपरीक्षक कुँवरले हप्ताभरमा के–कति प्रगति हुन्छ हरेक शुक्रबार जानकारी गराउनुपर्ने गरी अभियान सञ्चालन गरिएको बताउनुभयो सबै इकाइ क्रियाशील ढङ्गबाट लागेको बताउँदै उहाँले कतिपय फरार अभियुक्तको सूचीमा रहेकाको मृत्युसमेत भइसकेको बताउनुभयो ।
जिल्ला अदालत चितवनका तहसिलदार शाखा अधिकृत गम्भीर घिमिरेका अनुसार २०११ सालदेखियताका ती अभियुक्तबाट रु दुई करोड ८४ लाख ९४ हजार ७२८.७७ धरौटी रकम असुली गर्न बाँकी रहेको छ । बर्सेनि यो सङ्ख्या थपिदै गएको छ ।
विसं. २०११ देखि २०२० सम्मका आठजना, २०२१ देखि २०३० सम्मका २९ जना, २०३१ देखि २०४० सम्मका ३७ जना, २०४१ देखि २०५० सम्मका ९९ जना, २०५१ देखि २०६० सम्मका २६४ जना र २०६१ देखि २०७२ को हालसम्म गरी ७९५ जना पुगेको घिमिरेले बताउनुभयो ।
मुद्दा चल्दाचल्दै घरौटीमा छुटेर सम्पर्कमा नआएका, तारेख तोडेका, मुद्दा सहमतिमा मिलाएका मध्येबाट सो रकम असुल गर्न बाँकी रहेको उहाँले बताउनुभयो । यी फरार अभियुक्त कतिपयको मृत्यु भइसकेको र कतिपयलाई प्रशासनले निगरानी नगरेका कारण कानुनी दायरामा ल्याउन नसकिएको घिमिरेले बताउनुभयो । रासस














प्रतिक्रिया