लहान, ८ पुस । आमहडतालका कारण लामो समयदेखि सिरहाको लहानस्थित सगरमाथा यातायात व्यवस्था कार्यालय बन्द हुँदा सवारी चालक अनुमतिपत्रको परीक्षामा उत्तीर्ण गरेका ३०० भन्दा बढी परीक्षार्थीले चालक अनुमतिपत्र पाउनबाट वञ्चित भएका छन् ।
स्वायत मधेस प्रदेशको मागसहित आमहडताल आह्वान गरेका संयुक्त मधेस मोर्चाका कार्यकर्ताले कार्यालयमा तोडफोड गर्दै कार्यालय बन्द गराएपछि तीन महिनाअघि नै परीक्षा उत्तीर्ण गरेका परीक्षार्थी चालक अनुमतिपत्र पाउनबाट वञ्चित भएका हुन् ।
सगरमाथा यातायात व्यवस्था कार्यालयले गत साउनको अन्तिम सातातिर मोटरसाइकलको चालक अनुमतिपत्रका लागि लिएको लिखित तथा प्रयोगात्मक परीक्षामा ४१० ले उत्तीर्ण गरेको थियो । परीक्षा उत्तीर्ण गरेकामध्ये करिब सयजनाले मात्र चालक अनुमतिपत्र पाउन सकेको कार्यालयका चालक अनुमतिपत्र फाँटका प्रमुखले जानकारी दिनुभयो ।
परीक्षा सकिएलगतै देखि चालक अनुमतिपत्र वितरणको काम सुरु गरिए पनि भदौको ३ गतेसम्ममा करिब एक सयलाई वितरण गरिएको र भदौको ४ गतेदेखि कार्यालय बन्द भएकाले वितरण गर्न नसकिएको उहाँको भनाइ छ । सवारी ऐनमा चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले उत्तीर्णको मितिले तीन महिनाभित्र चालक अनुमतिपत्र लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।
यस्तै यातायात व्यवस्था कार्यालय तीन महिनादेखि बन्द हुँदा सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण, सवारी दर्ता तथा नवीकरणलगायतको कामसमेत प्रभावित हुँदै आएको छ । रासस














प्रतिक्रिया