धनगढी, ८ पुस । धनगढी उपहानगरपालिकामा शहरी जोखिम ब्यवस्थापन परियोजना लागू भएपछि राष्ट्रिय भवन संहिता कार्यान्वयनमा उल्लेख्य प्रगति भएको एक कार्यक्रममा चर्चा गरियो ।
आज धनगढीमा भएको जिल्ला स्तरीय विपद ब्यवस्थापन समितिको बैठकमा उपमहानगरपालिका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले सो परियोजना लागू भएपछि भुकम्प प्रतिरोधी घर निर्माणकै लागि दुई सय १९ जना दक्ष डकर्मी उत्पादन भएकोमा ठूलो उपलब्धी भएको चर्चा गरे । कार्यकारी अधिकृत श्रेष्ठले दाता संस्थाहरूको परियोजना सकिए पनि उपमहानगरपालिकाले यो कार्यलाई निरन्तरता दिने बताए ।
सो अवसरमा उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले शहरी जोखिम ब्यवस्थापन परियोजना लागू भएपछि नगर क्षेत्रमा मात्र नभई सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प प्रतिरोधी घर निर्माण भइरहेको बताए ।
बैठकमा उपमहानगरपालिका तथा वडा स्तरीय विपद ब्यवस्थापन समितिका गतिविधिका साथै फाया नेपालले तीन वर्षदेखि सञ्चालन गरिरहेको शहरी जोखिम ब्यवस्थापन परियोजनाका कार्यक्रमबारे छलफल गरिएको थियो । कार्यक्रममा फाया नेपालका सामाजिक परिचालक रक्षा मल्लसिंहले परियोजनाका गतिविधिबारे जानकारी गराएकी थिइन् ।
सामाजिक परिचालक सिंहले परियोजनाका कार्यक्रमका लागि तीन वर्षमा एक करोड ५० लाख ६५ हजार एक सय ४२ रुपैया खर्च भएको बताइन् । उपमहानगरपालिका भित्र बसोबास गर्ने बासिन्दा र मुख्यगरी संकटासन्न र प्रकोप प्रभावित, दलित, जनजाती, महिला, वालवालिका तथा अपाङ्गता भएका व्यक्तिकेन्द्रीत परियोजना अन्तर्गत नगरपालिकाको संकटासन्नता तथा क्षमता विश्लेषण तथा प्रतिवेदन प्रकाशन भएको, नगरपालिकाको पाच वर्षीय विपद् जोखिम ब्यवस्थापन योजना निर्माणमा सहजिकरण र नगरपालिकाले आर्थिक वर्ष २०७१/०७२ देखि कार्यान्वयनमा ल्याएको १४ वटा वडामा सामुदायिक विपद् व्यवस्थापन संरचनाको निर्माण र सवलीकरण कार्यक्रमबारे जानकारी दिइएको थियो ।
यस्तै १४ वडामा खोज तथा उद्धारका सामग्री हस्तान्तरण, तीन वटा विद्यालयलाई बालमैत्री बनाउन शैक्षिक सामग्री सहयोग, वडा नम्बर १ र ७ मा दुई/दुई लाख रुपैया र बाँकी वडामा ६०/६० हजार रुपैयाका दरले आपतकालीन कोषको स्थापना भएको उनले बताइन् ।
तीन वर्षको अवधिमा संस्थाले स्थानीय सञ्चार माध्यमसंग सहकार्य गरी विपद् जोखिम न्यूनीकरण सचतेना सञ्चालन गरिएको, एक सय ५० जनाको सहभागितामा चार वटा महिला सशक्तिकरण केन्द्रको स्थापना तथा तिनका कार्ययोजनामा सहयोग र घुम्ती कोष स्थापनामा सहयोग गरिएको छ ।
राष्ट्रिय भवन संहिता कार्यान्वयनका लागि नगरपालिकासंगको सहकार्यमा स्थानिय विपद् व्यवस्थापन समितिहरुको वार्षिक कार्ययोजना निर्माणमा सहजिकरण र सहयोग भएको, समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरणका लागि अल्पीकरण योजना अन्र्तगत उपमाहनगरपालिका परिसरमा भूकम्प प्रतिरोधी नमुना भवन निर्माण गरिएको फायाले जनाएको छ । यस्तै पटेला र मनेहरा दुई वटा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माण भएको, दुईवटा छात्रा शौचालय निर्माण तथा मर्मत भएको वताउदै उनले दुई सय १९ जना डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम दिइएको बताइन् । त्यस्तै, उपमहानगरपालिका परिसरमा डिजिटल सूचना केन्द्रको स्थापना भएको उनले बताइन् ।
फाया नेपालले सञ्चालन गरेको सो परियोजनाले उपमहानगरका १, २, ७ र ८ नम्बर वडालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । उपमहानगरका कार्यकारी अधिकृत तथा नगर स्तरीय बिपद ब्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।















प्रतिक्रिया