धनगढी, ७ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रहितका नाममा औचित्यहीन कठोरताले समस्याको समाधान नहुने बताएका छन् ।
उपसभापति पौडेलले मधेसमा जारी आन्दोलनले परिवर्तनका उपलब्धी पनि गुम्ने खतरा बढेको बताए । उनले प्रधानमन्त्री ओलीले प्रदर्शन गरिरहेको कठोरताले पनि मुलुकको हित नगर्ने बताए ।
नेपाल प्रेस युनियन, कैलालीले मंगलबार कैलालीको गेटा विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले नेपाली जनताले प्राप्त गरेका उपलब्धीको रक्षाका लागि सरकार तथा आन्दोलनकारी दुवै पक्ष लचिलो बन्न आग्रह गरे ।
मधेसवादी दलका केही नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपसभापति पौडेलले भने– अहिले नै सरकार परिवर्तनको शब्द समेत उच्चारण गर्ने बेला भएको छैन ।
उपसभापति पौडेलले नेपाली काँग्रेसले मधेसमा जारी आन्दोलनले सिर्जना गरेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले दुईचार दिनभित्रै मुलुकमा विद्यमान गतिरोध समाप्त हुने विश्वास व्यक्त गरे ।
पत्रकारहरूको एक जिज्ञासामा नेता पौडेलले प्रदेशको सिमांकनमा हेरफेर गरिए मुलुक पुन भयानक द्वन्द्वमा फस्ने बताए । ‘सात प्रदेशको सिमांकनमा कुनै पनि हालतमा हेरफेर हुनसक्दैन’ उनले भने– वार्ताबाट चाढै नै समस्या समाधान हुने बताए । उनले मधेसवादी दलहरू पनि नाकाबन्दी लम्ब्याउने पक्षमा नरहेको दाबी गरे ।














प्रतिक्रिया