काठमाडौँ, ६ पुस । भूमि सुधार तथा व्यवस्था सहायक मन्त्री दिनेश श्रेष्ठ र सङ्घीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराट विष्टले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
भक्तपुर नगरपालिका–८ सुकुलढोका स्थायी घर भएका सहायक मन्त्री श्रेष्ठको सोही स्थानमा दुई आना, कटुञ्जेमा विभिन्न तीन कित्तामा गरी एक रोपनी १५ आना चार पैसा एक दाम घडेरीको जग्गा रहेको छ ।
काठमाडौँ महानगरपालिका–११ मा सहायक मन्त्री श्रेष्ठ र श्रीमती इना श्रेष्ठको नाममा क्रमशः चार आना तीन पैसा एक दाम र नौ आना एक दाम जग्गा र घर रहेको उहाँले बुझाउनुभएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
त्यसैगरी काठमाडौँ महानगरपालिका–४ मा इना श्रेष्ठको नाममा १४ आना दुई पैसा जग्गा रहेको जनाइएको छ । भक्तपुरको बाहेक सबै जग्गा स्वआर्जन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
पैतृक र स्वआर्जन गरी १२० तोला सुन, १० किलो चाँदी तथा हीराका तीन सेट चुरा सहायक मन्त्री श्रेष्ठसँग रहेको जनाइएको छ ।
एभरेस्ट बैंक, सानिमा बैंक, प्राइम बैंक, प्रभू बैंक, एवन सेभिङ, नवील बैंक र सबैको सहकारी संस्था भक्तपुरमा रहेको खातामा समेत गरी उहाँसँग रु तीन करोड ७५ लाख नगद रहेको छ । त्यो रकम जग्गा बिक्री र स्वआर्जनबाट सिर्जना भएको उल्लेख गरिएको छ ।
प्राइम बैंकको संस्थापक ८० हजार ४४० र साधारण २९ हजार ६२५ कित्ता गरी रु ३५ लाख बराबरको सेयर रहेको तथा नयाँ कम्पनी दर्ता इन्भेस्टमेन्ट प्रालि कम्पनिमा समेत रु चार लाख सेयर लगानी रहेको जनाइएको छ ।
गुण्डु गाविसको जग्गा खरिद कर्ता ग्लोबल कलेजका प्राचार्य खगेन्द्र ओझाबाट यही महिनाभित्र रु ५१ लाख प्राप्त हुन बाँकी रहेको समेत सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै इना श्रेष्ठको नाममा ल्यान्डरोभर गाडी २०६५ सालमा रु ५० लाखमा खरिद गरिएको तथा भक्तपुरको गुण्डु गाविसमा मोही लागेको ८४ रोपनी जग्गामा सिद्धि होम्स भाइबुहारीको नाममा रहेकामा त्यसमध्ये आफूले पाउने जग्गा बिक्री गरी रकम प्राप्त गरेको उल्लेख गरिएको छ ।
सहायकमन्त्री विष्टको सम्पत्ति
सङ्घीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विष्टले ललितपुर उपमहानगरपालिका–४ मा क्षेत्रफल नखुलाइएको सगोलमा बस्दै आएको घरजग्गा रहेको सम्पत्ति विवरण दिनुभएको छ ।
उहाँसँग ६० तोला सुन, ३०० तोला चाँदी रहनुका साथै आफू र डा अन्जली बस्नेतका नाममा विभिन्न बंैक तथा बित्तीय संस्थामा गरी करिब रु तीन लाख ७० हजार नगद रहेको उल्लेख गर्नुभएको छ ।
उहाँहरुका नाममा नेपाल टेलिकम र लाली गुराँस सहकारीको गरी ३०० कित्ता सेयर रहनुका साथै केपी सिमेन्टमा रु १० लाख बराबरको सेयर लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँसँग हाल दुई वटा सवारीसाधन रहेकामा ती दुवै बुबाबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
गाडी खरिदका लागि हिमालय बैंकबाट रु १८ लाख ऋण लिएकामा रु १५ लाख तिर्न बाँकी रहेको छ । पशुधनको रुपमा आफूसँग दुई वटा कुकुर रहेको पनि उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । रासस















प्रतिक्रिया