आदिसअबाबा, ४ पुस । पछिल्लो समयमा समस्याग्रस्त बन्दै गएको बुरुण्डीमा हिंसा रोक्ने प्रयोजनका लागि अफ्रकी युनियनले कम्तीमा पनि पाँच हजार सेना पठाउने भएको छ ।
अफ्रिकी युनियनले बुरुण्डीमा ती सेना पठाउने भएको जानकारी शनिबार दिइएको छ । बुरुण्डीमा जारी रहेको हिंसाको अन्त्यका लागि सो देशमा सेना पठाउन उक्त युनियन सहमत भएको जनाइएको हो ।
त्यसका लागि बुरुण्डीलाई समस्या समाधानका लागि चार दिनको समय सीमा दिएको बताएको छ । चौवन्न सदस्यीय सो युनियनले सो निर्णय गरेको समाचारमा जनाइएको छ ।
बुरुण्डीमा पछिल्लो समयमा मानवहत्या भइरहेको भन्दै यस्तो कार्य हुन नदिने प्रतिबद्धता पनि उक्त युनियनले जनाएको समाचारमा उल्लेख गरिएको छ ।
सो युनियनको शान्ति तथा सुरक्षा परिषदे शनिबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– हामीले बुरुण्डीमा पाँच हजार भन्दा बढी नै सेना पठाउन लागेका छौँ र त्यहाँ शान्तिको स्थापना गर्नु सो सुरक्षा फौजको काम हुनेछ ।
उक्त युनियनको सुरक्षा परिषद्ले त्यहाँ सेना पठाउने विषयमा शुक्रबार मात्र निर्णय गरेको हो । बुरुण्डीका नागरिकको सुरक्षाका लागि त्यहाँ सेना पठाउने निर्णय गरिएको बताइएको छ ।
यस विषयमा निर्णय गरिएको जानकारी उक्त युनियनका प्रवक्ताले शुक्रबार दिएका थिए । तर ती सेना के कति जनाको सङ्ख्यामा हुनेछन् भन्नेबारेमा भने केही बताएको थिएन ।
तर युनियनको पछिल्लो विज्ञप्तिमा बुरुण्डीमा पाँच हजार भन्दा बढी नै सेना पठाइने जनाइएको बताइएको छ । रासस÷एएफपी















प्रतिक्रिया