काठमाडौं, ४ पुस । संयुक्त मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । शुक्रबार घोषित आन्दोलनका कार्यक्रममा नाकामा धर्ना दिने र राजमार्ग अवरुद्ध गर्ने उल्लेख छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मोर्चाको बिहीबार र शुक्रबार बसेको मोर्चा बैठकले ५ देखि १५ पुससम्म ११ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ती कार्यक्रममा नाका र राजमार्ग अवरोध गर्नेबारे कुनै उल्लेख छैन ।
मोर्चाका नेताले पनि नाका र राजमार्गको आन्दोलन कम हुने र नाका सहज हुने बताएका छन् ।
मोर्चाको एक घटक संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले नाका सहज हुने जानकारी दिए । ‘अब नाका सहज हुन्छ’, राईले भने ।
मोर्चाले जारी गरेको आन्दोलनका कार्यक्रममा जिल्ला सदरमुकाममा भेला गर्ने, सरकारी कार्यक्रमको प्रतिरोध गर्ने, संविधान संशोधनको प्रस्ताव जलाउनेलगायत छन् ।
मोर्चाका शीर्ष नेताहरूको चारदिने भारत भ्रमणपछि आन्दोलनका स्वरूप परिवर्तन गर्न तयार भएका हुन् ।
भारतीय राजदूत रणजित रायले पनि मोर्चाका नेताहरूलाई सरकारले प्रस्ताव गरेका तीनबुँदे प्रस्तावबारे छलफल गरी वार्ताबाट टुंगो लगाउन दबाब दिँदै आएका छन् ।
‘भारतीय राजदूतले तपाईंहरू सरकारसँग कुन हदसम्म सहमति गर्न सक्नुहुन्छ गर्नुहोस् भनेर सुझाब दिनुभएको हो,’ मोर्चाका वार्ताटोली सदस्य रामनरेश रायले भने ।















प्रतिक्रिया