
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कुनै समय मन्त्री खानका लागि आग्रह गर्दा ‘हुँदैन गिरिजाबाबु, मेरो साथीले राजीनामा दिएर खाली भएको ठाउँमा म मन्त्री बन्दिन’ भन्दै मन्त्री पद लत्याएका ती पुराना कांग्रेस नेता अहिले पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारालाई साकार पार्न लागिरहेका छन् । उनी हुन् कृष्णकिशोर घिमिरे ।
नेपाली कांग्रेसप्रतिको लगाव देखेर उच्च पदमा पुगिसकेका साथीहरू पनि आदर र सम्मानका साथ उनको नाम लिन्छन् । सम्मान गर्छन् ।
व्यक्तिगत स्वार्थलाई लत्याएकै कारण कांग्रेसको राजनीतिमा केही पछि परेको हुँ की भन्नेमा उनलाई कत्ति पनि आत्मग्लानी छैन । उनीसँगै राजनीति गरेका साथीहरू अहिले राजधानीमा महल खडा गरेर चिल्ला गाडीमा हिँड्न् । तर घिमिरे अहिले पनि उस्तै दिनचार्य छ ।
बरु महँगीले घिमिरेलाई घाँटी थिच्दै ल्याएको छ । सुकिला मुकिला छैनन् । भ्रष्टाचार विरोधी अभियानमा आफूलाई उभ्याउने प्रयासमा छन् ।
कांग्रेसप्रतिको आफ्नो लगाव, प्रतिवद्धता सबैका लागि पाठ र शिक्षा भएको उनको भनाइ छ । ती पूराना कांग्रेसी नेता पूर्व सांसद घिमिरे अहिले पनि दाङ जिल्लाको रामपुर गाविसमा बसेर संगठन गरिरहेका छन् । १३औँ महाधिवेशनमा कुनै पनि समूहमा नपरेपछि एक्लै उम्मेदवारी दिएर केन्द्रीय सदस्यमा थोरै मतअन्तरले पराजित भएका थिए ।
राजधानीका लामो बसाइँबाट कांग्रेसलाई फाइदा पुग्ने नदेखेपछि केही वर्षअघि घिमिरे आफ्नै थातथलो फर्किएर संगठनमा लागेका छन् ।
घोराही बजारभन्दा झण्डै पाँच किलोमिटर उत्तरपूर्वी गाविस रामपुर–३ मा रहेको घरबाट दाङका सबै राजनीतिक कार्यक्रम उनले भ्याउने गरेका छन् । उनीसहितका साथीहरूको कारण दोस्रो संविधानसभामा दाङका पाँच वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो ।
दाङ कांग्रेसलाई संस्थागत रुपमा अगाडि बढाउने घिमिरे संस्थापक जिल्ला अध्यक्षका रुपमा चिनिन्छन् । हुन त कांग्रेसको स्थापनासँगै दाङ जिल्लामा विभिन्न व्यक्तिले संगठन गर्न खोजेपनि त्यत्ति सफल भएका थिएनन् । तर घिमिरले कांग्रेसलाई दाङमा हुर्काउन ठूलै योगदान दिएका छन् । उनी पहिलो पटक विक्रम संवत २०३१ सालमा घोराहीमा पक्राउ परेका थिए । नयाँशिक्षाको बिरोध गरेवाफत उनलाई एकसाता थुनामा राखिएको थियो ।
विक्रम संवत २०२६ सालमा दाङको भरपुरस्थित पदमोदय पब्लिक माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दैगर्दा आफ्नै कक्षाका सहपाठी अमर रेग्मीको हातबाट कांग्रेसको सदस्यता लिएका घिमिरेका त्यसपछि अनेकौ राजनीतिक उतारचढाव भए । राजनीतिमा लागेकै कारण जेल जाने र छुट्ने उनका दिनचार्य जस्तै भए । त्यति बेला पदमोदयमा प्रधानाध्यापक महेन्द्र ठाकुर थिए ।
घिमिरले २०३५ साल जेठ महिनाको मध्यतिर दाङ जिल्लाको मानपुर गाविसको जरुवा, पिपल भन्ने स्थानमा भेला गरेर नेपाली कांग्रेसलाई विधिवत रुपमा जन्माएका हुन् । केन्द्रको निर्देशनअनुसार अध्यक्ष बनेका घिमिरेले ३३ सदस्यीय कायसमिति बनाएका थिए ।
कार्यसमितिमा जेल, प्रवास र उपस्थितहरूलाई समेटेर कार्यसमिति बनाएको स्मरण गर्छन् । त्यो कार्यसमिति वीरकेश्वरी गौतम, तेजबहादुर गौतम, लेवेन्द्र धिताल, शिवहरि शर्मा, प्रदीप योगी, ऋषिराज आचार्यलगायतलाई राखिएको थियो ।
घिमिरेले आफ्नो राजनीतिक जीवनमा कांग्रेसका सभापति समेत बनिसकेका पूराना साथी वीरकेश्वरी गौतमले धेरै सहयोग गरेको स्मरण गर्छन् । भारतको बनारस होस् वा आफ्नै गृह जिल्ला, विभिन्न स्थानमा वीरकेश्वरी गौतमले राजनीतिक रुपमा सहयोग गर्दै आएको उनले बताए ।
दाङ कांग्रेस जन्मिएको जरुवा भेलामा करिव ३० जनाको उपस्थिति रहेको घिमिरेको भनाइ छ । ‘त्यो बेला राजनीति लुकेर गर्नु पर्थ्यो’, उनले भने, ‘सबै गतिविधि लुकेर गर्नुपर्ने भएकाले अत्यन्तै कठिन बेलामा कांग्रेसलाई संस्थागत गर्ने काय भयो ।’
विक्रम संवत २०३५ सालमा आफ्नै कार्यसमितिका एक जना सदस्यले सबै कुरा तत्कालीन अञ्चलाधीश दिगम्वर झासम्म पुगाएपछि नौ जना साथी दाङको ललौराबाट असार महिनामा पक्राउ परेको घिमिरेले तितो इतिहाँस पनि सुनाए । ‘अहिले ती साथी हामी समक्ष हुनुहुन्न’, घिमिरेले भन्नुभयो, ‘हामी त्यस्तो कठिन अवस्थाबाट संगठन गरेर यहाँसम्म आएका हौँ ।’
ललौरा बैठकमा तत्कालीन अध्यक्ष घिमिरेका साथै वीरकेश्वरी गौतम, स्व.शिवहरि शर्मा, लेवेन्द्र धिताल, शिव लामिछाने, दीपक गिरी, तेजबहादुर बस्नेत, स्व.ऋषिराज आचाय र कलाधर आचार्य पक्राउ परेका थिए । पक्राउ परेका मध्ये घिमिरे, वीरकेश्वरी, ऋषिराज र शिवहरिलाई सल्यान जिल्ला पुगाइएको थियो । त्यहाँ यो समूह एक वर्ष जेल बसेको थियो ।
संगठनका क्रममा आफूहरूले तत्कालीन अञ्चलाधीशलाई विभिन्न चेतावनी दिने गरेको घिमिरेले स्मरण सुनाए । ‘हाम्रो संगठनको गतिविधि हाम्रै साथीहरूले अञ्चलाधीश दिगम्वर झा समक्ष पुगाइ दिने गरेका रहेछन्’, उनले भने, ‘पछि हामीले पक्राउ गर्ने हो भने तुलसीपुरको जेल अलि ठूलो बनाउ । हामी आफै पक्राउ पर्न तयार छौँ भन्ने सन्देश पठाएपछि अञ्चलाधीश अलि डरायो ।’
आफूले विक्रम संवत २०३८ सालमा बर्दियाको ढोढरीमा कांग्रेसका शीर्ष नेताहरूसहितको भेलाबाट दाङ पार्टी अध्यक्षको जिम्मेवारी खुमबहादुर खड्कालाई सुम्पिएको घिमिरेले सुनाए । घिमिरेले कठिन समयमा जन्माएको कांग्रेसको अध्यक्ष र सभापति हुनेमा अहिले थुप्रै भइसकेका छन् । खड्कापछि दाङ कांग्रेसको अध्यक्ष तीर्थराज ज्ञवाली ‘चैतु’ (दुई कार्यकाल), वलदेव शर्मा मज्गैँया, गेहेन्द्र गिरी, वीरकेश्वरी गौतम र अहिले घनश्याम रेग्मीसम्म आइपुगेको छ ।
यसरी जन्मिएको कांग्रेसको नजिकिँदै गरेको महाधिवेशनमा थुप्रै नेताहरूले सभापति पदमा उम्मेदवारीको तयारी गरेका छन् ।
विक्रम संवत २०५६ सालमा दाङको क्षेत्र नम्बर ३ बाट विजयी भएका घिमिरेलाई कांग्रेस केन्द्रले धेरै नजर लगाएको छैन भन्ने टिप्पणी आउने गरेका छन् । आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन सुरु गरेका घिमिरे अहिले प्रचार प्रसारमा लागेका छन् । दाङको अधिवेशनमा पनि उनको नजर गाडिएको छ ।
प्रस्तुती : विमल योगी/काठमाडौं















प्रतिक्रिया