भक्तपुर, ३ पुस । भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोट जाने एक मात्र वैकल्पिक सडकका रुपमा रहेको कमलविनायक चरेली नगरकोट सडक निर्माण भएको एकवर्षमै जीर्ण बनेकोे छ ।
ग्रामीण पुनः निर्माण तथा पुनस्र्थापना आयोजनाले एसियाली विकास बैंक, बेलायती सहयोग नियोगलगायतका दातृ संस्थाको करिब रु ६ करोडको लागतमा निर्माण सम्पन्न भएको सडक एक वर्षमै पूरै जीर्ण बनेको छ ।
भक्तपुरको कमलविनायकबाट भत्केकोपाटी, सुडाल, जितपुरफेदी, चरेली, कलमसी हुँदै नगरकोटको टावरसम्म ११.५ किलोमिटर लामो १० मिटर चौडाइ सडकको कालोपत्र भत्किएर खाल्डै खाल्डो भएपछि कमलविनायकबाट नगरकोट नगरपालिका क्षेत्र सुडाल भएर चल्ने बससेवामा स्थानीयवासीले जोखिम पूर्ण यात्रा गर्नुपरेको स्थानीय दामोदर दङ्गालले बताउनुभयो ।
सडक निर्माणले सुडाल, बागेश्वरी र नगरकोटका बासिन्दा लाभान्वित भए पनि कमजोर सामग्री प्रयोग गरेर सडक निर्माण गरेकाले एकवर्षमै सडकको कालोपत्र उप्किएर खाल्डैखाल्डो भएको हो । नगरकोट जान यो सडकबाट सात किलोमिटर नजिक पर्ने भएपछि यहाँबाट नगरकोट जाने निजी यातायातको चापसमेत बढेको छ । यातायात बढेसँगै आयोजनाले कालोपत्र गर्न छाडेको सात सय मिटर सडक र कालोपत्र गरेको सडकको प्रत्येक घुम्ती एवम् उकालोमा कालोपत्र उप्किएर ठूलाठूला खाल्डो बनेपछि अहिले सडक दुर्घटनाको उच्च जोखिममा रहेको दङ्गालले बताउनुभयो ।
सडक जीर्ण भएपछि यहाँको उत्पादन बजार पु¥याउन निकै कठिन हुन थालेको सुडाल पुरी गाउँका लक्ष्मण पुरीले बताउनुभयो । कालोपत्र भत्किएर बनेको सडकको खाल्डाखुल्डीले दुर्घटनाको उच्च जोखिम बढेको र सधँै दुर्घटनाको त्रास बोकेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख माधवजङ्ग कार्कीले जिल्ला विकास समितिसँग उक्त सडक मर्मत गर्न सक्ने बजेट नभएको र केन्द्रीय तहबाट बजेट नआएकाले सडक मर्मत गर्न नसकिएको उहाँको भनाइ छ । कार्यालयका इन्जिनियर विनोद खनालले यो सडकको मर्मत गर्न करिब रु एक करोड ५० लाख लाग्ने र जिविससँग बजेट नभएकै कारण सडक मर्मत गर्न नसकिएको बताउनुभयो । रासस















प्रतिक्रिया