काठमाडौं । राज्यका हरेक अंगबाट नराम्ररी पछारिन पुगेको, आफूलाई लोकतन्त्रवादी भन्ने तर व्यवहारमा असाध्यै अलोकतान्त्रिक नेपाली कांग्रेस भारतीय जनता पार्टीको भ्रातृ संगठनको रूपमा परिणत भएको छ । लोकतन्त्र, प्रजातन्त्र र समाजवादको नारामा आफूलाई नेपाली राजनीतिको मसिहा ठान्ने कांग्रेस पछिल्लो दिनमा भाजपाका नेता विजय जोलीको इशारामा अगाडि बढेको छ ।
भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न नदिनेदेखि मधेशी मोर्चालाई सहमति गर्न नदिने काममा समेत कांग्रेस लागेको छ । भारतले यतिखेर कांग्रेस मार्फत खेलिरहेको छ । तर आफूलाई राष्ट्रसेवक दाबी गर्ने कांग्रेस खड्ग ओली नेतृत्वको सरकारलाई असफल पार्ने, मधेशी मोर्चालाई सहमतिमा आउन नदिने तथा नाकाबन्दी कायम राख्ने योजनामा नराम्ररी फसेको छ । विजय जोली हरेक दिन कांग्रेस सभापति निवास महाराजगन्ज जान्छन् र उनकै उपस्थितिमा महामन्त्री कृष्ण सिटौला र डा. मिनेन्द्र रिजाललगायतको संयुक्त बैठक बस्छ । सोही बैठकको आधारमा सत्ता पक्षले ल्याउने जुनसुकै प्रस्तावलाई पनि असफल बनाउने योजनामा अगाडि बढ्छ । पछिल्लो दिन भारतीय राजदूत रणजित राय, रअका उच्च अधिकारी, भारतीय सेनाका पूर्व जनरल अशोक मेहतालगायतको अवाञ्छित चलखेल तथा निर्देशका आधारमा कांग्रेस चलेको स्वयम् गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले बताएकी छिन् ।
भूकम्प पीडितलाई राहत दिन रोक्ने, नाकाबन्दी खोल्नेतर्फ पहल नगर्ने, सदन समेत अवरुद्ध गर्ने, चारैतिरबाट खड्ग ओली नेतृत्वको वर्तमान सरकारलाई नाकाबन्दी गरेर असफल पार्ने दाउमा कांग्रेस लागेको छ । जोलीको योजनालाई हुबहु कार्यान्वयन गर्ने जिम्मा कहिल्यै प्रधानमन्त्री समेत हुन नसकेका र पार्टी सभापति पनि हुन नसक्ने रामचन्द्र पौडेलले लिएका छन् ।
मंगलबार साँझ सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको प्रमुख दलको शीर्ष नेताको बैठकमा समेत पौडेलले भारतको मनसाय नबुझी अगाडि बढ्न नहुने र जोली काठमाडौंमा नै रहेको भन्दै उनलाई साक्षी राखेर मात्रै सहमति हुनुपर्ने बताएका थिए । कांग्रेस नेतृ कोइरालाले त रामचन्द्र पौडेल हरेक दिन जसो भारतीय दूतावास जाने र मन्त्रणा गरेर फर्कने गरेको मोरङ–काठमाडौं समाजले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नै बताएकी थिइन् । जनआह्वान साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया