गोरखा, ३ पुसर । प्रधानमन्त्री केपी ओलीले मधेसी दलको उदण्डताले सहमति जुट्न नसकेको बताएका छन् ।
भूकम्पको केन्द्रविन्दू गोरखाको बारपाक, छेकम्पार र केरौंजा गाविसको अवलोकन गर्न आएका ओलीले बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै मधेशी दलको उद्दण्डताका कारण कुरा मिल्न नसकेको बताएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘उनीहरुले चाहिने कुरा गरेपछि कुरा मिलिहाल्छ’, उनले भने, ‘आन्दोलनका नाममा भइरहेका अनावश्यक कामहरु जो भइरहेको छ, जानकी मन्दिर तोडफोड गरिनु कुनै बहादुरी र आन्दोलन हैन । त्यस्तो गर्नु हुँदैन ।’
उनले भारत र चीन दुइटै छिमेकीहरुसँग मित्रतवत सम्बन्ध रहेकाले दुबै देशमा व्यापार र पारवाहन हुने पनि जनाए ।
उनले नाकाबन्दी छिट्टै खुल्ने भन्दै नाकाबन्दीजस्ता वितण्डा मच्चाइरहेकाले गतिरोध अन्त्य हुन नसकेको बताए ।
उनले सहमतिमै अघि बढौं भन्ने चाहँदा चाहँदै पनि सहमति नजुटेपछि पेलेर अघि बढ्ने अबवथामा पुगेको बताए ।
‘अस्तिको दिन तपाईंहरुलाई थाहा छ, हामी सहमतिका साथ जान चाह्यौं । तर सहमति नजुटेपछि सहमतिबिनै हामी अघि बढ्छौं भन्नु पर्ने अवस्था सिर्जना भयो’, उनले भने, ‘किनभने हिमाली भेगतिर भुकम्पपीडित जनता जाडोले मरिरहेका छन् । हिमालमा प्लास्टिक टाँगेर बसेका छन् । देशको अर्थतन्त्र डामाडोल भएको छ ।’
उनले नाकाबन्दीका कारण ग्यास, पेट्रोल, डिजल, हवाइ इन्धन र औषधि आपूर्ति ठप्प भएको दोहोराए ।
‘स्कूल–कलेज चलेका छैनन् । यस्ता बिषयमा पनि संवेदनशीलता नभएपछि जो साथमा हुन्छ, हुन्छ । जो हुँदैन, हुँदैन अघि बढ्छौं भनेर अघि बढ्न बाध्य भयौं’, उनले भने, ‘नजुट्ने साथ पर्खेर सँधै विलम्ब गर्न मिल्दैन भनेर अघि बढ्यौं ।’ पहिलो दिन अलिअलि बिरोध भएपनि अब विरोधको औचित्य सकिएको उनको जिकिर थियो ।















प्रतिक्रिया