इनरुवा, २ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपालमा हालै जारी भएको संविधान एसिया महादेशकै सबैभन्दा उत्कृष्ट रहेको जिकिर गर्नुभएको छ ।
‘कस्तो बन्यो संविधान, एकता र सद्भावको अभियान’ विषयको विचारगोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले अहिलेको संविधानले मधेसी, आदिवासी जनजाति, मुसलमानलगायत सबै जातजातिको अधिकार सुनिश्चित गरेको छ भन्नुभयो ।
नेता पौडेलले मधेसी मोर्चाले आन्दोलन छाडेर सहमतिमा आउनुपर्ने बताउँदै तराई मधेसमा आन्दोलनका नाममा असहिष्णुता बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
आफूलाई पार्टी सभापतिमा समर्थन गर्न पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासँग छलफल भएको बताउँदै उहाँले आगामी महाधिवेशनमा आफू सभापतिको उमेदवारीबाट पछाडि नहट्ने जानकारी दिनुभयो । रासस












प्रतिक्रिया