२३ कार्तिक २०८३, सोमबार

हिमपातले लिमीमा आन्तरिक नाकाबन्दी, न्यालुलेकको हिउँ पन्छाउन थालियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–हेमन्त केसी

सुर्खेत । हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ ।

गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डअन्तर्गत करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले ढाकिएको छ । सडक अवरुद्ध भएपछि लिमीका बासिन्दालाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।

नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालय सिमकोटको संयुक्त आयोजनामा कात्तिक १९ गतेदेखि हिउँ पन्छाउने काम सुरु गरिएको हो । सडक खुलाएर लिमीवासीको आवतजावत सहज बनाउनुका साथै अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउने उद्देश्यले हिउँ हटाउन थालिएको गाउँपालिकाले जनाएको छ ।

हिउँ पन्छाउने कामको अवस्था र प्रगति बुझ्न नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा तथा पूर्वाधार विकास कार्यालयका कर्मचारी न्यालुलेक पुगेका थिए । उनीहरूले अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच भइरहेको कामको स्थलगत निरीक्षण गरेका छन् ।

खाद्यान्न ढुवानीमा सकस

हिमपातका कारण न्यालुलेकमा सडक अवरुद्ध भएपछि नाम्खा–५ र ६ का बासिन्दा बाह्य क्षेत्रसँगको सडक सम्पर्कबाट विच्छेद भएका छन् ।

उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्दा स्थानीयलाई खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामग्री ल्याउन कठिन भएको छ ।

लिमीवासीको दैनिक जनजीवन सहज बनाउन सडक खुलाउनु अनिवार्य भएको गाउँपालिका अध्यक्ष लामाले बताए । उनका अनुसार सडक सञ्चालनमा आएपछि स्थानीयको आवतजावतसँगै खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री ढुवानीमा सहजता हुनेछ ।

समुद्री सतहबाट करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेकमा हिउँ पन्छाउनु चुनौतीपूर्ण छ । प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद गाउँपालिका र पूर्वाधार विकास कार्यालयको समन्वयमा काम अघि बढाइएको अध्यक्ष लामाले बताए ।

हिमपातका कारण वर्षेनि लिमी क्षेत्रको सडक सम्पर्क प्रभावित हुँदै आएको छ । सडक अवरुद्ध हुँदा स्थानीयले भोग्नुपर्ने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव र आवतजावतको समस्यालाई मध्यनजर गर्दै हिउँ पन्छाउने काम थालिएको हो ।