धनगढी । कैलीको धनगढीसँग सिमाना जोडिएको भारतको बनगाउँ बजारमा आइतबार राति भीषण आगलागी भएको छ ।
नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तर्गत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएको स्थानीको भनाई छ ।
व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्युतको तार सर्ट भएर बेलुका ७ बजेको समयमा आगलागी सुरु भएको थियो । सो आगो समयमै नियन्त्रण गर्न नसक्दा बजार भर फैलिएको उनले बताए ।
धनगढी उपमहानगरपालिकाबाट दुईवटा दमकल, नेपाली सुरक्षाकर्मी, भारतीय सुरक्षाकर्मी र स्थानीयको प्रयासपछि राति ११ बजेतिर आगो नियन्त्रणमा आएको अग्रवालले बताए ।
बनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलो मिटर टाढा रहेको छ । पलियाबाट दमकल आउन ढिलाइ हुने भएका कारण आफूहरूले धनगढीलाई दमकल सहयोग मागेको अग्रवालको भनाई छ ।
आगलागीका कारण ५० देखि ७० करोड मूल्य बराबरको क्षति भएको स्थानीय व्यवसायी अङ्कित गुप्ताले बताए ।
एक आपसमा टाँसियर पसल बनेका कारण आगो नियन्त्रणमा समस्या भएको उनी बताउँछन् ।
बनगाउँ बजारमा बिहानैदेखि सामान किनमेल गर्ने नेपालीको भीड लाग्ने गर्दछ ।












प्रतिक्रिया