काठमाडौं, १ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कृषिमन्त्री तथा एमालेका नेता हरिप्रसाद पराजुलीले आफ्नो छोराका नाममा खर्च गरेको दुई लाख साठी हजार रुपियाँ असुलउपर गर्न आदेश दिएको छ ।
अख्तियारका सहयक प्रवक्ता खगेन्द्रप्रसाद रिजालद्वारा आज (बुधबार) जारी विज्ञप्ति आनुसार कृषिमन्त्री पराजुलीले आफू पदमा रहेको बेला आफ्ना छोरा गिर्वाणविक्रम पराजुलीलाई गैह्रकानुनी तरिकाले अष्ट्रोलिया भ्रमणमा पठाएको जनाइएको छ ।
अष्ट्रेलिया घुम्नका लागि मन्त्री पराजुलीले छोराका नाममा बैंकमा २ लाख ६० हजार जम्मा गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले पदको दुरुपयोग गरी आफ्नो छोरा गिर्वाणविक्रम पराजुलीलाई गैह्रकानुनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएको भन्ने विभिन्न समाचार माध्यममा प्रकाशितरप्रसारित समाचार एवं आयोगमा पर्न आएको उजुरी सम्बन्धमा अनुसन्धान गर्दा तत्कालीन कृषि विकाशमन्त्री पराजुलीले आफै मन्त्रिस्तरीय निर्णय गरी बनकटवा दुग्ध उत्पादक सहकारी संस्था लि., बाँकेमा शेयर सदस्य रहेका आफ्ना छोरालाई दुग्ध विकास संस्थानको खर्चमा मिति २०७२/०३/२९ देखि २०७२/०४/०४ सम्म अध्ययन भ्रमण टोलीमा सहभागी गराई अष्ट्रेलिया भ्रमणमा पठाएको पाइएको’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निजको उक्त भ्रमणबाट दुग्ध विकास संस्थानलाई रु. २,६०,०००।– (अक्षरुपी दुई लाख साठी हजार) आर्थिक व्ययभार पर्न गएको पाइयो । उक्त विषयमा आयोगको छानविनका क्रममा निज गिर्वाण विक्रम पराजुलीलाई संस्थानबाट उपलव्ध गराएको रकम रु २,६०,०००।– (तत्कालीन कृषि विकाश मन्त्री हरिप्रसाद पराजुलीले मिति २०७२/०८/२८ गते दुग्ध विकास संस्थानको हिमालयन बैङ्क लि. मा रहेको खातामा जम्मा गरेको हुँदा गैह्रकानूनी तवरबाट दुग्ध विकास संस्थानलाई थप आर्थिक दायीत्व पर्ने गरि खर्च भएको रकम असुल उपर गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
मदिरा सेवन गरेर काठमाडौंमा धान दिवसका दिन महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा मन्त्री पदबाट बर्खास्तमा परेका मन्त्री पराजुलीलाई अख्तियारको निर्णयले अर्को झट्का लागेको छ ।












प्रतिक्रिया