काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नाकाबन्दी नखुलेसम्म प्राधिकरण विधेयक मात्रै पारित गरेर भूकम्पपीडित जनतालाई कागजको छानो र ओछ्यान मात्र दिने भनि प्रश्न गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘प्राधिकरण विधेयक पारित गरेर मात्रै हुँदैन । नाकाबन्दी पनि खुल्नुपर्छ । नाका नखुलेसम्म विधेयक मात्रै पारित गरेर के पीडितलाई कागजको छाना र ओछ्यान दिने हो ? पुनःनिर्माण गर्न त सामान ल्याउनु पर्ला ?’
रिजालले एमाले नेतृत्वले लिएको बाटो र नीति र प्रधानमन्त्री केपी ओली जिम्मेवार भएर अरुलाई सराप्न नछाडुन्जेलसम्म समस्याको समाधान नहुने ठोकुवा गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री जी उखान टुक्का राख्न छाड्नुस, जिम्मेवार बन्नुस ।’
उहाँले पहिला कार्यसूचीमा रहेको संविधान संसोधन विधेयक किन कार्यसूचीबाट हटाएको भन्ने आफूहरूको प्रश्न भएको भन्दै प्राधिकरण विधेयक निर्माणमा त्यति हतार भएको हो भने तीन महिनाअघि विधेयक पेश गर्दा किन नहुनेको भनि प्रश्न गर्नुभयो ।
एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले विधेयक पास गर्ने नियत भए दुई सेसनको बैठक राखेर पेश गर्न सकिने बताउनुभयो । उहाँले अहिले कांग्रेस समस्या समाधानभन्दा पनि समस्या अल्झाउन लागि परेको आरोप लगाउनुभयो । उहाँले संसद अवरुद्ध हुँदा धेरै कुरा अवरुद्ध हुनेतर्फ सचेत गराउँदै एमालेको राष्ट्रिय कार्यकर्ता भेलाले नै संविधान संसोधन विधेयक पारित गर्ने निर्णय गरिसकेकोले यसमा शंका नगर्न आग्रह गर्नुभयो ।
नेकपा क्रान्तिकारी माओवादीका सचिव देब गुरुङ्गले भारतीय नाकाबन्दीका विरुद्ध सबै दलहरू एक हुनु पर्नेमा जोड दिनुभयो । उहाँले भारतसँगको सम्बन्धलाई पुनःपरिभाषित गर्न सबै असमान सन्धीसम्झौता खारेज गर्नु पर्ने बताउनुभयो ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले चार बुँदे प्रस्तावले मुलुकको समस्या समाधान नहुने भन्दै नाकाबन्दी आफूहरूले नखोलेको बरु अझै कडा पार्ने चेतावनी दिनुभयो ।
उहाँले आफूहरूको माग पूरा नभएसम्म नाकाबन्दी नखोल्ने भन्दै बुधबार बस्ने मोर्चाको बैठकले आन्दोलन अझै शसक्त पार्ने बताउनुभयो ।












प्रतिक्रिया