काठमाडौं, २८ मंसिर । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेससँग चिसिएको समबन्धले कसैलाई हित नगर्ने बताउनुभएको छ ।
उहाँले कांग्रेसले अगाडि सारेको संविधान संसोधन प्रस्तावमा एमालेले सहयोग गर्ने संस्थागत निर्णय गरिसकेको बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज(सोमबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले कांग्रेसले ल्याएको संविधान संसोधनको प्रस्तावले पनि धेरै समस्याको समाधान गर्ने बताउनुभयो ।
‘कांग्रेसले ल्याएको संविधान संसोधनको दुई वटा प्रस्तावलाई सहयोग गर्ने निर्णय एमालेले संस्थागत रुपमा गरिसकेको छ’, उहाँले भन्नुभयो, ‘बरु यो संसोधनमा कुसैलाई चित्त बुझ्दैन भने भाषा मिलाउन सकिन्छ ।’
कांग्रेसको सरकारका पालामा दर्ता भएको संविधान संसोधनको दुई वटा विधेयक सदनमा छन् । त्यसलाई बढाउन मधेसी मोर्चाले दिएको छैन ।
ती विधेयकमा राज्यका हरेर अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व तथा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धाणको विषय उल्लेख छ ।
त्यसैगरी एमाले उपाध्यक्ष ज्ञवालीले मधेसी मोर्चाले भनेका माग सबै पूरा नहुँने बताउनुभएको छ । ‘मधेसी मोर्चाले ल्याएका सबै माग पूरा हुँदैनन्’, उहाँले भन्नभयो, ‘केही माग पूरा गर्न सकिन्छ । प्रदेशको सीमाङ्कन काटेर जाने कुरा हुँदैन । त्यसमा एउटा सहमति गरेर जानु पर्छ । सीमाङ्कनमा राजनीतिक वा संवैधानिक आयोग बनाएर जानुपर्छ ।’
सीमाङ्कनको विषय अहिले नै समाधान हुन नसक्ने उपाध्यक्ष ज्ञवालीको भनाइ छ । मधेसी मोर्चाले सीमाङ्कनलाई लिएर आन्दोलन गरिरहेका बेला एमालेका नेता ज्ञवालीले सो विषय पूरा नहुने बताउनुभएको छ ।












प्रतिक्रिया