जनकपुरधाम, २३ असार । एक सातादेखि भइरहेको अविरल वर्षाका कारण जलेश्वर कारागार चुहिने भएपछि त्यहाँ रहेका कैदीबन्दी समस्यामा परेका छन् ।
एक सय ५३ वर्ष पुरानो रहेको सो कारागार जीर्ण, पुरानो तथा जर्जर अवस्थामा भएकाले पानी परेपछि चुहिने गरेको कारागार प्रशासनले जनाएको छ ।
‘क्षमताभन्दा बढी कैदी भएपछि त्रिपाल झुन्डाएर बाहिर राख्ने गरेकामा वर्षायाम सुरु भएपछि कैदीलाई राख्न समस्या भएको छ’ जेलर शोभेन्द्र ठाकुर भन्नुहुन्छ, ‘कोठाहरू चुहिने भएकाले एउटै कोठामा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ ।’
अर्कोतिर ढलको व्यवस्था नभएपछि वर्षाको पानी कारागारभित्र जम्ने गरेकाले यसले वर्षायाममा कैन्दी कष्टकर जीवन बिताउन बाध्य रहेको कारागार व्यवस्थापनले जनाएको छ ।
एक सय ३५ कैदीबन्दी राख्ने क्षमता रहेको जलेश्वर कारागारमा अहिले ४ सय ५७ जना कैदीबन्दी रहेका छन् । तीमध्ये भूमिगत सङ्गठनका ३७, भारतीय मूलका १८, बर्मेली मूलका आठ जना कैदीबन्दी रहेको छ ।
कारागारभित्र शौचालय खानेपानी समस्याबाट पीडित रहेको यहाँका कैदीहरूलाई बस्ने समस्या भएको छ । जसले गर्दा कैदीहरू झाडापखाला, ज्वरो, रुघाखोकी, घाउ खटिराजस्ता रोगबाट प्रभावित देखिन्छ ।
आवश्यकताभन्दा बढी विद्युत् भार कटौती भएका कारण कैदीबन्दीहरू अध्यारोमै बस्नुपर्ने बाध्यता रहेको छ भने वर्षाको पानी कारागारभित्र जम्ने गरेकाले सर्पको आतङ्क पनि बढ्न गएको कैदीहरूको गुनासो रहेका छन् ।
जीर्ण कारागार मर्मत सम्भारका लागि बारम्बार कारागार व्यवस्था पनि विभाग र गृहमन्त्रालयलाई पत्राचार गर्दा हालसम्म सुनुवाइ नभएको कारागार व्यवस्थापनले जनाएको छ ।
















प्रतिक्रिया