३१ आश्विन २०८३, शनिबार

भन्सार विभागद्वारा गोदाममा थन्किएका औषधि जफत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

medicine aausadhiकाठमाडौँ, २४ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा थन्किएका औषधिलाई भन्सार विभागले जफत गरेको छ ।

गत वैशाख १२ गते विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट पीडितलाई उपचारार्थ सहयोगस्वरुप अन्तर्राष्ट्रिय समुदायले निःशुल्क रुपमा प्रदान गरेका औषधि गोदाममा थन्किएर बसेका थिए । भन्सार विभागले रु ६० करोड बराबरको औषधि जफत गरेको हो ।

विभागले जफत गरेका औषधिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुधबार हस्तान्तरण गरेको थियो । ती औषधिमध्ये कुन कुन प्रयोगमा आउने, कुन कुन नष्ट गर्नुपर्ने छुट्याउन मन्त्रालयले औषधि व्यवस्था विभागको समेत सहभागितामा स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको जनाएको छ ।

व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आजको बैठकमा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले ती औषधिलाई तत्काल प्रयोगमा ल्याइने जानकारी दिनुभयो ।

“औषधिको गुणस्तर, दर्ता, प्रयोगको अवधिलगायत कुराहरु हेरी औषधिका माग भएका अस्पताललाई वितरण गर्छाैं” – उहाँले बताउनुभयो ।

गजको अस्पतालमा अभाव

शल्यक्रियाको अवस्थामा प्रयोग हुने गज (सेतो ब्यान्डेज) अहिले सरकारी अस्पतालमा अभाव देखिएको छ । “औषधि त येनकेन प्रकारेण आपूर्ति गरिरहेका छौँ, शल्यक्रियापछि नभई नहुने गजको आपूर्ति गर्न भने हम्मेहम्मे परिरहेको छ” – सचिव श्रेष्ठले सो बैठकमा गुनासो राख्नुभयो ।

“बजारमा गज पाइन्छ, तर अस्पतालसम्म पु¥याउन खरिद ऐनका कारण सकिएको छैन, म तपाईंहरुको ध्यानाकर्षण गराउँछु” – उहाँले भन्नुभयो ।

अर्काेतर्फ इन्धनको चरम अभावको मार खेपिरहेका अस्पतालमा जडान भएका विद्युत् फिडर (चौबीसैघन्टा विद्युत् आउने यन्त्र)को मूल्य विद्युत् प्राधिकरणले शतप्रतिशत वृद्धि गरेपछि अस्पतालहरु अर्काे मारमा परेका छन् ।

“न इन्धन न विद्युत् अस्पताल कसरी चलाउने हो ? अस्पतालमा पनि २६ वटा युनियनसम्म छन् । औषधि त जोहो गरेका छौँ” – सचिव श्रेष्ठले बताउनुभयो ।

उहाँले औषधिको अभाव हुन नदिन छिटो र सरल प्रक्रियाद्वारा औषधि किन्न कार्यविधि स्वीकृत भइसकेको हुँदा अब औषधि अभाव हुने छैन भन्नुभयो ।

रु पाँच पर्ने औषधि पाँच पैसामा दिए

बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक बालकृष्ण खकुरेलले औषधि उद्योगका स्थानीय बजार प्रतिनिधिले आफ्ना कम्पनीका औषधि चलाउन सुरुसुरुमा रु पाँच पर्ने औषधिलाई पाँच पैसासम्ममा दिएका कारण अहिले अस्पतालमा औषधिको अभाव भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“औषधि सप्लाई गर्ने ठेकेदारको कब्जामा अस्पताल छ, ठेकेदारले आजभोलि त्यस्ता औषधि दिन नसकेपछि अभाव देखिएको हो, यस्तो अभावको विभागले तत्काल वैकल्पिक समाधान खोजिरहेको छ ।”

हाल ५३ नेपाली कम्पनीले एकसय प्रकारका औषधि उत्पादन गर्ने गर्छन् । रु ३२ अर्ब बराबरको औषधि कारोबार हुने गर्छ । सोमध्ये रु १४ अर्ब नेपाली कम्पनीको योगदान रहिआएको छ ।

सो अवसरमा समितिका सदस्यहरुले स्वदेशका लागि आवश्यक पर्ने आधारभूत औषधिको स्वदेशमै उत्पादन गर्न, औषधिमा आत्मनिर्भर बन्न र औषधि नीति परिमार्जन गर्न सुझाव दिनुभएको थियो ।

समितिका सभापति रञ्जुकुमारी झाको सभापतित्वमा सम्पन्न सो बैठकमा समितिका सदस्य बद्री पाण्डे, अनुराधा थापामगर, आनन्दी पन्त, लक्ष्मण राजवंशी, रीता रावल, निशाकुमारी साह, जयन्ती राई, श्रीमाया थकालीलगायतले बोल्नुभएको थियो । रासस