काठमाडौँ, २२ असार । नेपाली काँग्रेसले पछिल्लो समयमा गठन भएका नयाँ नगरपालिकामा पार्टी संरचना विस्तार गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको काँग्रेस पदाधिकारी बैठकमा मुलुकमा हालै थपिएका नगरपालिकाअनुसार पार्टीको सङ्गठनात्मक संरचना यथासम्भव चाँडो विस्तार सम्बन्धमा छलफल भएको केन्द्रीय सदस्य एवम् प्रवक्ता दीलेन्द्रप्रसाद बडूले राससलाई बताउनुभयो ।
प्रवक्ता बडूले दुई वा दुईभन्दा बढी गाँउ विकास समिति गाभेर बनेका नयाँ नगरपालिकामा सहमतिका आधारमा गाउँ समिति विघटन गरी नगर र वडा तदर्थ समिति गठन गरिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “त्यसका लागि कुन प्रक्रियाबाट नयाँ संरचना बनाउने र कहिलेदेखि बनाउने भन्ने सम्बन्धमा छलफल भयो, अब छिट्टै केन्द्रबाट निर्देशन हुनेछ ।”
कार्यवाहक सभापति रामचन्द्र पौेडेलको सभापतित्वमा भएको बैठकमा क्रियाशील सदस्यताका लागि जिल्लाबाट धेरै माग भएकाले त्यसबारेमा पनि विचारविमर्श भएको उहाँले बताउनुभयो ।
काँग्रेसले यसअघि कायम रहेको पार्टीको क्रियाशील सदस्य सङ्ख्याको ५० प्रतिशतसम्म नयाँ सदस्यता थप गर्न अनुमति दिएको भएपनि अपुग भएकाले कति थप्ने भन्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।
काँग्रेसले आगामी १३औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको उचित व्यवस्थापनका लागि जिल्ला, क्षेत्रीय, गाउँ र वडाका समितिको निर्णयमार्फत मात्र गर्ने भएको छ ।
बैठकमा केहीदिनअघि सभासद्ले उठाएका संसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने, सरकारका कामकारबाही र बजेटका सम्बन्धका समेत छलफल भएको प्रवक्ता बडूले जानकारी दिनुभयो ।
















प्रतिक्रिया