३१ आश्विन २०८३, शनिबार

जागिर नपाउँदा सिरवारेका माओवादी पूर्वलडाकु विदेशिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शक्तिखोरमा पूर्व माओवादी लडाकू
शक्तिखोरमा पूर्व माओवादी लडाकू

– राम बहादुर थापा 
बागलुङ, २४ मङ्सिर । यहाँको एक गाउँका माओवादी पूर्व लडाकुहरुले गाउँ छोडेका छन् । शान्ति प्रक्रियाताका स्वेच्छिक अवकाश रोजेका र बहिर्गमनमा परेका पूर्व लडाकु विदेशिएका हुन् ।

जिल्लाको मल्म–६ बागलुङ सिरवारेबाट तत्कालीन नेकपा (माओवादी)ले थालेको सशस्त्र सङ्घर्षमा होमिएका एक दर्जन बढी लडाकु सक्रिय राजनीतिबाट अलग भएका छन् ।

राजनीतिक निराशा र आर्थिक-सामाजिक कारणले उनीहरु विदेश पलायन भएका हुन् । त्यसरी विदेशिनेमा खिमबहादुर भित्रीकोटी, विष्णु दर्जी, कृष्णबहादुर दर्जी, तिलबहादुर दर्जी, दानबहादुर दर्जी, जीवन दर्जी, लक्ष्मण दर्जी, दीपक दर्जीलगायत छन् ।

घरको आर्थिक समस्याले छोरा विदेश गएको पूर्वलडाकु कृष्णबहादुर दर्जीका बुबा जीतबहादुर दर्जीले बताउनुभयो । उहाँका कृष्णबहादुर र तिलबहादुर दुवै छोरा मलेसियामा छन् ।

अधिकांश रोजगारीका लागि मलेसिया पुगेको दर्जीको भनाइ छ । स्वेच्छिक अवकाश रोजेकाले पाएको नगद रु पाँच लाख पनि विदेश जाँदा खर्चेको पाइएको छ । आधाजति लडाकु भने बहिर्गमनमा परेकाले घर फर्कंदा रित्तै हात फर्केका थिए । बहिर्गमनमा पर्नेमा अधिकांश महिला छन् । लक्ष्मी दर्जी, गुमा दर्जी (क), गुमा दर्जी (ख), सुनिता दर्जीलगायत बहिर्गमित लडाकुको परिचय लिएर घर फर्केका थिए ।

दुःखी गरिबको सुदिन ल्याउन र समाजको मुहार फेर्न भनी माओवादी युद्धमा सामेल भएका उनीहरुमा राजनीतिप्रति कुनै भरोसा छैन । पूर्व लडाकु खिमबहादुर भित्रिकोटीकी श्रीमती सुनिता दर्जीले लडाइँमा जाँदाको आफूहरुको लक्ष्य पूरा नभएको उल्लेख गर्नुभयो । दर्जी पनि माओवादी लडाकु हुनुहुन्थ्यो । सङ्घर्षकै चरणमा दाङकी सुनिताको खिमबहादुरसँग प्रगतिशील विवाह भएको थियो ।

“हामीलाई ठूला सपना देखाइएको थियो, त्यतिबेला साँच्चिकै परिवर्तन हुन्छ भन्ने लाग्थ्यो” उहाँले भन्नुभयो –“अहिले सबै भताभुङ्गको अवस्थामा पुगियो, राजनीति स्वार्थ र नाफाघाटामा अल्झिएको छ ।” श्रीमान् विदेशीएपछि काखका बच्चाको रेखदेख र घरायसी धन्दामै दर्जीको दैनिकी बित्ने गरेको छ ।

शान्ति प्रक्रियापछि कोही पनि आफूहरुको अवस्था र पिरमर्का बुझ्न नआएको सोही गाउँकी गुमा दर्जीको गुनासो छ । सत्ता र राजनीतिमा फेरबदल आइरहे पनि कुनै समय जीउज्यान नभनी सशस्त्र सङ्घर्षमा होमिएका पूर्व लडाकुहरुको अवस्था भने नाजुक बनिरहेको छ ।

युद्धकला र राजनीतिक विचार/दर्शनमा समर्पित बनेका पूर्व लडाकुलाई गाउँ फर्केर घुलमिल हुन अप्ठ्यारो परेको स्थानीय माओवादी नेता डिलबहादुर परियारले बताउनुभयो ।

नेकपा–माओवादीका जिल्ला सचिवालय सदस्यसमेत रहनुभएका परियारले आर्थिक कारणले नै पूर्वलडाकु विदेश पलायन हुनुपरेको उल्लेख गर्नुभयो । “माओवादी आन्दोलन पनि छिन्नभिन्न भयो, सबैतिर निराशा छाएका बेला पूर्व लडाकु अलपत्र जस्तै थिए,” परियारले भन्नुभयो–“माओवादी पार्टीले पनि कुनै वास्ता गरेन, परिवार र आफ्नो आर्थिक व्यवस्थापनका लागि विदेश जानुको कुनै विकल्प छैन ।”

परियार स्वयम् पनि पूर्णकालीन राजनीति त्यागेर अहिले गाउँमै कृषि उद्यममा लाग्नुभएको छ । माओवादी सशस्त्र युद्धमा योगदान पु¥याएको गाउँ भएपनि पार्टीले सधैँ उपेक्षामा पारेको उहाँको ठहर छ । सिरवारे गाविसकै ठूलो दलित गाउँ हो । रासस