३० आश्विन २०८३, शुक्रबार

पत्रकार महासंघका अध्यक्ष भन्छन्- ‘मिडिया श्रम शोषणको अखडा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr. Mahendra Bista

जनकपुरधाम, २२ असार । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार प्रतिष्ठान श्रम शोषणको अखडा बन्दै गएको गुनासो आउनु चिन्ताको विषय भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाद्वारा आइतबार आयोजित ज्येष्ठ पत्रकार र महासंघमा निर्वाचित पदाधिकारीको सम्मान कार्यक्रममा उहाँले सञ्चार प्रतिष्ठानले कबुल गरेको पारिश्रमिक नदिने घटना हुन नदिन सजग हुनु जरुरी छ भन्नुभयो । काठमाडौँभन्दा बाहिरका पत्रकार र पत्रिकाबीच विद्यमान विभेदको अन्त्य गर्न महासंघ प्रयासरत रहेको बताउँदै उहाँले समग्र सञ्चार क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने अवधारणातर्फ गृहकार्य भइरहेको बताउनुभयो ।

महासंघका सचिव धमेन्द्र कर्ण, मध्यमाञ्चल संयोजक शीतल महतो र सदस्य अजय अनुरागीले महासंघ पत्रकारको हकहितको रक्षामूलक अभियानतर्फ अग्रसर छ भन्नुभयो । महासंघका पूर्व केन्द्रीय सदस्य हिमांशुकुमार चौधरी, शेषनारायण झालगायतले सञ्चार सम्बद्ध संस्थाले सञ्चारकर्मीको हकहितभन्दा प्रभाव र दबाबमा कार्य गरिरहेको तथ्य प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा ज्येष्ठ पत्रकार राजेश्वर नेपाली, रामभरोस कापडी, मदनलाल श्रेष्ठ, माधवबहादुर थापा, शंकरलाल श्रेष्ठ, अशोक रौनियार, बिएम खनाल, सुशील घिमिरे, रामप्रकाश साह, माधवप्रसाद आचार्य, आनन्द घिमिरे, अनिल घिमिरे, चन्देश्वर गिरी र दिलीप घिमिरेलाई सम्मान गरिएको थियो ।

शाखाका अध्यक्ष अनिलकुमार मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका अध्यक्ष डा विष्ट, सचिव कर्ण, सदस्य महतो र अनुरागी तथा स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवदीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा सुवेदीले शाखाद्वारा स्थापित पत्रकार कल्याण कोषलाई जिविसका तर्फबाट ५० हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।