भद्रपुर, २३ मङ्सिर । तीन वर्षदेखि सञ्चालित ‘युवा लक्षित व्यावसायिक तरकारी खेतीप्रति झापाका युवाको आकर्षण बढ्न थालेको छ ।
युवालाई कृषि विकास कार्यालयले जनही रु ६० हजार अनुदान दिन थालेपछि तरकारी खेतीप्रति आकर्षण बढेको हो । कार्यालयले पहिलो वर्ष ४० जनालाई रु २४ लाख, दोस्रो वर्ष ६० जनालाई रु ३६ लाख र यसवर्ष पुनः ६० जनालाई रु ३६ लाख अनुदान दिने भएको छ । पहिलो चरणमा एक बिघामा तरकारी लगाएमा रु ३० हजार पाउने र यो बालीपछि त्यही खेतीमा फेरी तरकारी बाली लगाएमा थप रु ३० हजार अनुदान पाउने प्रावधान रहेको छ ।
यसबाट जिल्लामा यस वर्ष १२० बिघा जग्गामा सरकारले दिने अनुदान प्राप्त गर्न तरकारी खेती हुने वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो । तरकारी खेती लगाउन र त्यसमा लाग्ने रोग तथा कीराबाट जोगाउन आवश्यक ज्ञान दिन पहिलो चरणमा छनोटमा परेका ३० युवालाई तीनदिने तालिम समेत दिइएको छ । उनीहरुलाई बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, प्राविधक सहायकद्वय बुल्लराम राजवंशी र शेषराज पौडेलले प्रशिक्षण दिनुभएको हो ।
तालिममा सहभागी बाहुनडाँगीकी राधिका चापागाईँले गएको वर्ष एक बिघामा रु एक लाख खर्च गरेर लगाएको गोलभेँडाबाट रु दुई लाख आम्दनी गर्न सफल भएकोे बताउनुभयो । अनुदान पाएकामा खुशी व्यक्त गर्दै उहाँले सरकारको लक्ष्य र योजना पूरा गर्न आफुमाथि जिम्मेवारी थपिएको प्रतिक्रिया दिनुभयो । सरकारी निगरानीमा गरिने व्यावसायिक तरकारी खेतीमा विषादीको प्रयोग नगरी प्राङ्गारिक मल र प्रविधिको प्रयोग हुने भएकाले यसबाट उपभोक्ताहरु विभिन्न जोखिमबाट मुक्त हुने बताइएको छ । रासस















प्रतिक्रिया