काठमाडौं, २२ मंसिर । नेपाल सरकारले छिमेकी देश साउदी अरेबियासँग एक करोड लिटर तेल अनुदानमा दिन आग्रह गरेको छ ।
भारतीय नाकाबन्दीले नेपालमा आएको इन्धन संकट टार्न भन्दै बाणिज्य तथा आपूर्ति मन्त्रालयले साउदी अरेबियासँग तेल उपलब्ध गराउन आग्रह गर्दै सोमबार पत्र लेखेको हो ।
मन्त्रालयको औपचारिक पत्रमा संकटको घडीमा छिमेकी राष्ट्रको नाताले साउदी अरेबियाको सहयोग अपेक्षा नेपालले गरेको लेखिएको छ । साथै साउदी सरकारलाई काठमाडौंसम्म तेल ल्याउने व्यवस्था गर्न पनि आग्रह गरिएको छ । एयरकार्गो मार्फत तेल काठमाडौं ल्याइदिन आग्रह गरिएको हो ।
वाणिज्य मन्त्रालयका सह-सचिव शिवप्रसाद त्रिपाठीले परराष्ट्र मन्त्रालयमार्फत साउदी पठाइएको पत्रमा १० हजार किलोलिटर पेट्रोल तथा डिजेल उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिनुभयो ।
साउदी अरेबियाले सहयोग गर्न सक्ने संकेत देखाएकाले नेपाल सरकारले औपचारिक रुपमै पत्र पठाएर १० हजार किलोलिटर तेल उपलब्ध गराउन आग्रह गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– साउदीले तेल अनुदानमा दिएमा हामीलाई ठूलो राहत हुन्छ ।’
यसअघि चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदानमा दिएको थियो । भारतीय नाकाबन्दीपछि राजधानी लगायत देशैभरी इन्धनको हाहाकार छ ।
















प्रतिक्रिया