३१ आश्विन २०८३, शनिबार

डोल्पालीलाई सुनभन्दा नुन पाउन गाह्रो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salt-aayaodin

– रामचन्द्र न्यौपाने

त्रिपुराकोट (डोल्पा), २१ मङ्सिर । त्यसै त भूगोलले ठगेको डोल्पालाई राज्यले पनि वर्षौंदेखि उपेक्षित गरिरहेको छ । डोल्पा सरकारको विकासे रणनीतिबाट पनि पछाडि परेको छ ।

आजको यस एक्काइसौँ शताब्दीमा विकासका लहर चलिरहेको अवस्थामा नेपालकालका सबैजसो जिल्लामा मोटरबाटो पुग्दा डोल्पा सडक सञ्जालको सुविधाबाट पनि अछूतो रहेको छ । मानिसको सर्वाङ्गीण विकासका लागि सबैभन्दा ठूलो कुरा पौष्टिक आहारयुक्त स्वस्थ खानेकुराको आवाश्यक पर्दछ तर डोल्पालीलाई भने राम्रोसँग साँझ–बिहान पेट भर्नसमेत कठिन हुने गर्दछ ।

डोल्पामा वर्षभरिमा उत्पादन गरिएको अन्नबालीले तीन महिनालाई पनि खान पु¥याउन मुस्किल पर्दछ । त्यसो त डोल्पाली नुन, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तुको पूर्तिका लागि अर्काको भर पर्नुपर्ने डोल्पालीको नियति नै बनिसकेको छ । डोल्पामा अन्य विकासे रणनीतिका कुरा त परैजाओस् डोल्पालीलाई पछिल्लो समयमा नुन, चामलजस्ता खाद्यान्न वस्तुको समस्याले पिरोल्न थालेको छ ।

सुगमका जिल्लामा यातायातको पहुँचले गर्दा कस्तो गुणस्तरको खाद्यान्न खाँदा स्थास्थ्यका लागि फाइदा हुन्छ भन्ने कुरा आउँछ तर डोल्पालीलाई भने सरकारले उपलब्ध गराउँदै आएको म्याद नाघेको, गुणस्तरहीन खाद्यान्नले समेत पेट भर्न सक्दैनन् । यही खाद्यान्न पाउन पनि राजनीतिक दलको झोला बोक्नुपर्ने बाध्यता छ । यस वर्ष डोल्पामा लामो समयसम्म परेको खडेरीले गर्दा डोल्पालीलाई तीन महिना खान पुग्ने अन्नबाली पनि नष्ट भएकाले थप समस्यामा परेको छ ।

आजका युगका मानिस वैज्ञानिक आविष्कारतिर लम्किरहेको बेला डोल्पाली भने पेट कसरी भर्ने भन्ने कुराको चिन्तामा अल्झिरहेका छन् भने कतिपय डोल्पाली त विकास भन्ने कुरामा समेत अनभिज्ञ छन् । तर यसमा डोल्पालीको दोष छैन किनभने सामान्य ज्वरो आउँदा सिटामोल नपाएर ज्यान गुमाउँदै आएका, एक गाउँबाट अर्को गाउँ जाँदा तय गर्नुपर्ने पैदलयात्रा, सामान ओसारपसार गर्नुपर्दा आफैँ ट्रक बन्नु पर्दा डोल्पालीको जीवनस्तरमा कुनै पनि सुधार नभएको जस्तो देखिन्छ ।

डोल्पालीको दुःख पीडालाई राम्रोसँग नियाल्ने हो भने डोल्पा पुरानै युगमा रहेकोजस्तो लाग्ने गरेको स्थानीयवासी कालुप्रसाद हमालले बताउनुभयो । डोल्पालीलाई यो लाग्छ कि डोल्पामा मोटरबाटो पुगे, गाउँगाउँमा अस्पताल स्थापना भए बिरामी पर्दा सामान्य उपचार पाइन्थ्यो, एक ठाउँबाट अर्को ठाउँमा मोटरमा जान पाइन्थ्यो अनि आफैँ मानव ट्रक हुनुको पीडा हट्थ्यो हमालले भन्नुभयो ।

यद्यपि, कतिपय डोल्पाली भने त डोल्पामा छिटो मोटरबाटो पुगे यस्ता समस्याबाट छुट्करा पाइन्छ कि भन्ने आशामा बाँचिरहेका छन्, कतिपय मोटर कस्तो हुन्छ हेर्न पाए, छुन पाए भन्ने आशामा छन् । आजको विश्वमा चमत्कारिक रुपमा विकास भइरहेको बेला डोल्पाली भने नेपाल सरकारले साल्ट कर्पोरेसनमार्फत उपलब्ध गराउने गरेको नुन चामल पनि समयमा नै उपलब्ध नहुँदा मर्कामा परेका छन् । समयमा नै नुन उपलब्ध नहुँदा डोल्पालीका लागि सुनभन्दा नुन प्यारो लाग्न थालेको छ ।

भौगोलिक रुपमा विकटता र सरकारले समयमै नुन उपलब्ध नगराउँदा व्यापारीले प्रतिपोका नुन एक सयभन्दा धेरै लिने गरेकाले डोल्पालीलाई नुनभन्दा सुन पाउन गाह्रो हुने स्थानीयवासी लोकमान श्रेष्ठले बताउनुभयो । “हामी शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्लगायतका आधारभूत आवाश्यकताबाट पनि वञ्चित छौँ”, श्रेष्ठले भन्नुभयो । सरकारले हाम्रा आधारभूत आवाश्यकता पूरा गर्न आवश्यक नीति बनाएर काम गर्नसमेत आग्रह गर्नुभयो ।

डोल्पाली विपन्नताको कारणले गर्दा सुन लगाउनु त परै जाओस् प्रतिपोका दश रुपैयाँ पर्ने नुनसमेत समयमा नै खान नपाएको स्थानीयवासी लोकमान श्रेष्ठले बताउनुभयो ।

चारैतिर डाँडापाखाले घेरिएको डोल्पामा बसोबास गर्ने डोल्पाली आजको वैज्ञानिक युगमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, सञ्चारको सुविधा लिन पाउँला भन्नु ‘आकासको फल आँखातरी मर’ भनेजस्तै साबित भएको उहाँको भनाइ छ । रासस