फलेवास (पर्वत), २१ मङ्सिर । यहाँको एक पर्यटकीय गाउँमा पहिलोपटक सञ्चारको सुविधा पुगेको छ । प्रसिद्ध अन्नपूर्ण पदयात्राको सहायक मार्गमा पर्ने उत्तरी पर्वतको क्याङ गाविसस्थित लेस्पारमा नेपाल टेलिकमले टावर विस्तार गरेपछि सञ्चारको पहुँच पुगको हो ।
मोबाइल तथा इन्टरनेट प्रदायक कम्पनीको कुनै पनि सेवाबाट प्रभावकारी रुपमा सञ्चार सुविधा उपभोग गर्न नपाएका लेस्पार क्षेत्रका बासिन्दाको माग र आवश्यकतालाई मध्यनजर गर्दै नेपाल टेलिकम पर्वत शाखाले टावर स्थापना गरेपछि स्थानीयवासी र पर्यटक लाभान्वित बनेका छन् ।
टेलिकमले टावर स्थापना गरेपछि पहिलोपटक सञ्चार सुविधा पाएको भन्दै टेलिकमको प्राविधिक टोलीलाई लेस्पारका बासिन्दाले भव्यरुपमा फूलमालाले सम्मानसहित स्वागत गरेका थिए । जिल्लाकै उत्कृष्ट होमस्टेसहितको पर्यटकीय गाउँका रुपमा परिचित लेस्पारमा आगामी दिनमा सञ्चारको सहज सुविधा प्राप्त भएपछि स्थानीयवासी र त्यहाँ आउने पर्यटकलाई सहज भएको स्थानीय समाजसेवी नरसिंह पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार टावर स्थापना गरिदिएपछि सबै गाउँवासीमा हर्ष छाएको छ । गाउँमा मोबाइल र इन्टरनेटको समेत सुविधा हुने भएपछि उक्त पदमार्ग हुँदै आउने पर्यटक र होमस्टेमा बस्न आउनेको बसाइ लम्बिने भएको छ । “पहिला टेलिकमको टावर खोज्दै फोन गर्नकै लागि डाँडापाखा चहार्नुपथ्र्यो, अब ढुक्क भएको छ”, उहाँले भन्नुभयो ।
उक्त टावर निर्माणसँगै आसपासका देउपुर, देउराली, दुर्लुङ गाविसका बासिन्दालाई पनि सुविधा पु्गेको छ । टेलिकमले सञ्चारको सहज सुविधा नपुगेका जिल्लाका भङ्गरा र थापाठानाको केही गाउँलाई लक्ष्यित गर्दै निकट भविष्यमा नै टावर स्थापना गर्ने योजना अघि सारेको नेपाल टेलिकम पर्वत शाखामा कार्यरत सुपरभाइजर केशव भुसालले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया